| सोमवार, कार्तिक २३, २०८३

जिल्लाकै जेठो त्रिभुवन पुस्तकालय पुनर्निर्माण सुरु

जीर्ण अबस्थामा रहेको त्रिभुवन पुस्तकालय पुनर्निमाण हुने भएको छ । गोरखा नगरपालिका ६ तिनधारेमा रहेको जिल्लाकै जेठो पुस्तकालयको भवन भत्काएर नयाँ बनाउने प्रक्रिया शुरु भएको हो ।
गोरखा नगरपालिका लगायत विभिन्न दाताहरुसँगको समन्वयमा पुस्तकालय निर्माणका लागि काम शुरु भएको पुस्तकालय पुनर्निर्माण समितिका संयोजक मोहनलाल श्रेष्ठले बताए । ‘अहिले पुरानो भवन भत्काउने काम भैरहेको छ’, उनले भने, ‘यहाँ रहेको किताब, फर्निचर सबै चिज जतनसाथ तीनधारे खानेपानीको अफिसमा राखेका छौं । भवन भत्काएर ठाउँ खालि गरेपछि त्यहि ठाउँमा नयाँ भवन बनाउने योजना छ ।’
पुस्तकालय भवन पुनर्निमाणका लागि गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष ८ लाख रुपैयाँ विनियोजन गरेको छ । सो रकमले काम अघि बढाउने र थप रकम दाताहरुसँग जुटाउने पुनर्निमाण समितिका संयोजक श्रेष्ठले बताए । नयाँ भवनको नक्सा तयार भैसकेको उनको भनाई छ ।


नक्सा अनुसार अब बन्ने भवन दुईतले सात कोठे हुनेछ । असारभित्रमा डिपिसी सक्ने लक्ष्यका साथ काम भैरहेको संयोजक श्रेष्ठले बताए । २००८ सालमा स्थापना भएको सो पुस्तकालय पटक पटक बन्द हुँदै खुल्दै आएको छ । १५ बर्षदेखि लगातार बन्द रहेको जीर्ण पुस्तकालयको संरक्षण तथा पुनर्निमाणको लागि अहिले स्थानीय बासिन्दाले योजना बनाएका हुन् । उनीहरुले भवन पुनर्निमाणका लागि श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेका छन् ।


बिसं २००८ मा मनकामना केबलकारका सञ्चालक लक्ष्मण बाबु श्रेष्ठ सहित प्रेमकुमार श्रेष्ठ, चुडानारायण किसुनबाबु श्रेष्ठ, बाबुराम श्रेष्ठ लगायतको समुहले पुस्तकालय स्थापना गरेका थिए ।
व्यवस्थापकीय कमजोरीका कारण बिगत १५ बर्षदेखि सो पुस्तकालय प्रयोग बिहिन भएको थियो । साथै सरसफाइ नहुँदा र भूकम्पका कारण पुस्तकालय भवन जीर्ण बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्