
धार्चेमा जाग्दै सांस्कृतिक मेला जात्रा
विभिन्न गाउँ–ठाउँबाट मेला जात्रा हराउँदै गए पनि गोरखाको दुर्गम धार्चेमा भने सास्कृतिक मेला जात्रा यथावत रहेका छन् । पुस्तौँदेखि चल्दै आएका मेला जात्रा अहिले पनि धार्चेका विभिन्न १०, १२ ठाउँमा यथावतै रहेको धार्चे ५ सिङ्लाका राज गुरुङले जानकारी दिए ।
अहिले बिगत चार दिनदेखि सिङ्लामा रेसेमेला चलिरहेको छ । ‘गुम्दा र सिङ्लाको बीचमा पर्ने रेसेफाँटमा माघ २ गतेदेखि रेसे मेला चलिरहेको छ’, गुरुङले भने, ‘बर्षैपिच्छे लाग्ने यो मेला हाम्रा पुस्तौंपुस्तादेखि चलिआएको हो ।’ मेलामा साँस्कृतिक गीत, नाच चलिरहेको छ ।
‘मेलमिलाप आमा समुहसंगको सहकार्यमा जनसेवा युवा क्लवले मेला आयोजना गरेको हो’, गुरुङले भने, ‘मेलामा विशेषगरी भलिबल प्रतियागिता, नृत्य प्रतियोगिता, दौड प्रतियोगिता हुन्छ ।’ मेलामा सिङ्ला, गुम्दा, लप्सीबोट, यमगाउँ, लाप्राक, माछाखोला, खोर्लाबेशी, खोर्लागाउँ, उहिया, लापुदेखिका जात्रुहरु आउने उनले बताए ।
उनका अनुसार धार्चेका विभिन्न दस, बाह्र ठाउँमा सांस्कृतिक मेला लाग्ने गर्छ । गुरुङका अनुसार बर्खा सकिएपछि भदौ १ गते गुम्दामा आलुमेला लाग्ने गर्छ । ‘त्यसपछि पुस १५ मा लाप्राक र माछाखोलामा मेला लाग्छ । माघ १ गतेदेखि ५ गतेसम्म रेसेफाँटमा, माघ १५ देखि १९ गतेसम्म खोर्लावेशीमा तातोपानी मेला लाग्छ’, उनले भने, ‘हुल्चुक, रुञ्चेत, केरौंजा, काशिगाउँमा पनि माने नाच मेला, नारा पर्व मेला लाग्छ । लापु बेशीमा पनि मेला लाग्छ ।’ अरु ठाउँमा हराउँदै गए पनि धार्चेका गाउँहरुमा भने मेला नहराएको उनको भनाइ छ ।




