
मगर समुदायद्वारा धुमधामले माघे सक्रान्ति पर्व मनाइयो
मगर समुदायको बाहुल्यता रहेको गोरखामा हर्ष उल्लासका साथ माघेसक्रान्ति पर्व मनाइएको छ । घरघरमा इष्टमित्र आमन्त्रण गर्ने, मिठा मिष्ठान्न परिकार बनाएर खाने गरेर माघेसक्रान्ति पर्व मनाइएको छ । साथै जिल्लाका विभिन्न ठाउँमा संस्थागत(सामुहिक) रुपमा भेला भएर पनि पर्व मनाइएको छ ।
गोरखा सदरमुकाममा नेपाल मगर संघ नगर कार्यसमितिको आयोजनामा विशेष कार्यक्रम गरी पर्व मनाइएको छ । वडा नं. ७ रोहटेपानीस्थित मगर संघको कार्यालय परिसरमा भेला भएका विभिन्न वडाका मगर समुदायले व्यानर लिएर विभिन्न सांस्कृतिक नाचगान, झाँकीसहित नगर परिक्रमा गरिएको थियो ।
सो टोली हरमटारस्थित खेलकुद मैदानमा भेला भई औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । नगर कार्यसमितिका अध्यक्ष होमबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा मौलिक भेषभुषामा सजिएर परम्परा अनुसारका झ्याउरे, चुट्का, कौडालगायत विभिन्न गीत संगीत, नाचगान र झाँकी प्रस्तुत गरेका थिए । कार्यक्रममा टिका सिंजाली मगरको विषेश प्रस्तुती रहेको थियो । साथै संस्कृति परम्परा अनुसारका मौलिक खानेकुरा खाएर हर्ष उल्लास मनाइएको थियो ।
नगर कार्यसमितिका अध्यक्ष होमबहादुर थापाको अध्यक्षता र गोरखा नगरपालिकाकी उपप्रमुख सपना पुनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ, मगर संघका केन्द्रीय सदस्य विष्णु राना मगर, संघका गण्डकी प्रदेश सचिव टंक राना मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका उपाध्यक्ष प्रेमध्वज थापा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवान मास्के, गोरखा चेम्बर अफ कर्मशका अध्यक्ष रामस्वरुप श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल मगर संघ नगर कार्यसमितिका पूर्व अध्यक्षहरु शेरबहादुर राना र भक्तराम रानालाई सम्मान गरिएको थियो । साथै पर्वकै अवसरमा मगर संघको पालुङटार नगर कार्यसमिति, सिरानचोक गाउँ कार्यसमिति र अजिरकोट गाउँ कार्यसमितिको आयोजनामा पालुङ्टार ६ रजगरे(कमलटार)मा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै मगर संघको आरुघाट गाउँ कार्यसमितिको आयोजनामा आरुघाट बजारमा, गण्डकी गाउँ कार्य समितिको आयोजनामा गण्डकीमा र सहिदलखन गाउँ कार्यसमितिको आयोजनामा घैरुङमा पनि कार्यक्रम आयोजना गरिएको थियो ।




