
प्रथम सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैँ तिहार सस्तो मेला २०८२ हुने
सिरानचोक गाउँपालिकाको वडा नं ६ नयाँसाँघुमा प्रथम सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैँ तिहार सस्तो मेला २०८२ हुने भएको छ । दरौँदी सिर्जनशील महिला समूहको आयोजनामा नयाँसाँघु बजारमा मेला हुन लागेको हो ।
मेला यही असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म संचालन हुने आयोजक दरौँदी सिर्जनशील महिला समूहले जनाएको छ । मेलाको अवसरमा खुल्ला दोहोरी प्रतियोगिता समेत हुने मेलाको मुल आयोजक समितिका संयोजक मोहन शाहीले बताए । खुल्ला दोहोरी प्रतियोगिताको बिजेताले रु ७० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । यस्तै, प्रतियोगितामा दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार रुपैँया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने उनले बताएका छन् ।
स्थानीय लोक कला, संस्कृतिको प्रचार प्रसारसहित कृषि क्षेत्रको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित मेला आयोजना गरिएको शाही बताउँछन । उनका अनुसार मेलाको अवसरमा पालिकाभर उत्पादित विभिन्न कृषि सामाग्री बिक्री वितरण गर्नुका साथै सांस्कृति कार्यक्रम प्रदर्शनी र दशैँ तिहार सस्तो बजार संचालन हुने छ । सस्तो बजारमा विभिन्न कृषि सामाग्री, लत्ताकपडा र खानाका परिकार बिक्री वितरण हुने उनको भनाइ छ ।
‘खासगरी यो सांस्कृतिक कार्यक्रम दशैँ अघि नै आयोजना गर्ने योजना थियो तर जेन जी आन्दोलनले गर्दा कार्यक्रम सार्नु प¥यो’, उनले भने ।




