
द्रव्यशाहको तीज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल पहिलो
गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा आयोजित मावि स्तरीय तिज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल मावि पहिलो भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा आइतबार आयोजित प्रतियोगितामा ओल्ड क्यापिटल मावि रानीवन प्रथम भएको हो ।
गोरखा नगरपालिकाभित्र संचालित माध्यमिक विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा लक्ष्मीबजार स्थित महालक्ष्मी मावि दोस्रो बनेको छ भने लक्ष्मीबजारकै लक्ष्मी सामुदायिक शिक्षा सदन तृतीय बनेको छ । प्रतियोगितामा आयोजक द्रव्यशाह बहुमुखी क्याम्पसले सान्त्वना स्थान हासिल गरेको क्याम्पसले जनाएको छ । पहिलो, दोस्रो र तेस्रोले क्रमश रु ५ हजार १००, ४ हजार १०० र ३ हजार १०० नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सान्त्वना स्थान हासिल गर्ने टिमलाई रु १५ सय नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको छ ।
नगरपालिका भित्रका ८ वटा मावि विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगिता नेपाली संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित आयोजना गरिएको द्रव्यशाह क्याम्पसका क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । विजेता टिमहरु बाहेक प्रतियोगितामा उपस्थित सम्पुर्ण विद्यालयहरुलाई प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए । क्याम्पस प्रमुख अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नं ९ का अध्यक्ष कुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी एवं शिक्षकहरुको सहभागिता रहेको थियो ।




