
लाप्राकमा घाँटुमेला, आसपासका गाउँका दर्शकहरुको भेला
चण्डीपुर्णिमाको अवसर पारेर धार्चे गाउँपालिका ४ लाप्राकमा सांस्कृतिक घाँटुमेला सुरु भएको छ । गुरुङ समुदायको प्रमुख सांस्कृतिक सम्पदाका रुपमा रहेको सतिघाँटु लगाउने कार्यक्रम शुक्रबारदेखि सुरु गरिएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिए ।
लाप्राकको ठूलोआँगनमा लगाइएको सतिघाँटु हेर्न तथा मेला भर्न गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ लगायत उपस्थिति भएका थिए । साथै माछाखोला, गुम्दा, यमगाउँ, लप्सीबोट, बारपाकदेखिका दर्शकहरु आएको उनले बताए । घाँटुमेला मंगलबार समापन हुनेछ ।
मंगलबार घाँटुका गुरु तथा घाँटु नाच्ने कलाकारहरुको घरमा गई नाच्ने र चण्डी देउरालीमा लगेर नचाइनेछ । देउरालीमा घाँटु धुरेपछि फेरि केहीबेर ठूलोआँगनमा आएर समापन गर्ने परम्परा रहेको छ । घाटु नाचेको ठाउँ कुर्न गाउँले सबै भेला हुने परम्परा पनि छ । साथै सोही मौकामा विभिन्न गाउँबाट आएका युवा, युवतीहरुले दोहोरी खेल्ने प्रचलन रहेको गुरुङले बताए ।




