
सुनिला गुरुङको नयाँ गीत ‘बुद्धभूमि’ सार्वजनिक
धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको नयाँ गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ । दशौं भूकम्प स्मृति दिवसको अवसरमा बारपाकमा आयोजित एक कार्यक्रमकाबीच उनको नयाँ गीत बिमोचन गरिएको हो ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गीतको बिमोचन गरेका हुन् । सँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थिए । बिमोचनसँगै गीतको भिडियो समेत प्रोजेक्टरमार्फत सार्वजनिक गरिएको थियो । गोरखासहित अन्य जिल्लाका ठाउँमा गीतको भिडियो सुट गरिएको गायिका गुरुङले बताइन् । देशको सामाजिक, सांस्कृतिक, राजनीतिक लगायतका क्षेत्रलाई भिडियोमार्फत देखाउन खोजिएको उनले जानकारी दिइन् ।
‘समग्र देशको अवस्था हेर्दा युवाहरु धेरै जसो विदेशिएको छ, पार्टीको नाममा वेथिती बढेको छ,’ उनले भनिन्, ‘देश विकास गर्न, देशमा शान्ति स्थापना गर्ने हो भनी हामी सबै एक भएर, सच्चा नेपाली बनेर लाग्नुपर्छ भन्नी कुरा गीत र भिडियो देखाउन खोजिएको छ ।’
गुरुङको स्वरमा सजिएको उक्त गीतमा गायक कृष्ण केसिको पनि स्वर रहेको छ । उनी संगितकार पनि हुन् । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । प्रिज्मा रेकर्डिङ स्टुडियो परिवारले रेकर्डिङ तथा मिक्सिङ गरेको उनले जानकारी दिइन् ।




