| शनिबार, कार्तिक २१, २०८३

चैते दशै मेला सम्पन्न

गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको चैते दशै मेला सम्पन्न भएको छ । शनिवार एक दिन संचालन भएको मेलामा महिला समूहहरुबीच नौमती बाजा प्रतियोगिता भएको थियो । प्रतियोगितामा गोरखा नगरपालिका–९ को गोरखकाली महिला नौमती बाजा संरक्षण समूह पहिलो, गोनपा–९ कै शुभारम्भ उद्यमी महिला समूह दोस्रो र गोनपा–१० को गण्डकी बचत तथा ऋण सहकारी संस्था तेस्रो भएको छ ।

उनीहरुले क्रमश सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेको संघका अध्यक्ष भगवानबाबु मास्केले बताए । प्रतियोगितामा पाँच वटा महिला समूहको सहभागीता रहेको उनले जानकारी दिए । सहभागी सबै समूहलाई प्रति समूह पाँच हजार नगद समेत उपलब्ध गराइएको उनको भनाइ छ ।

मेलामा गोर्खाली ठाडो भाका, शहिदलखन गाउँपालिका–८ बाट भजन, वडा नं. २ बाट चुट्का, गोरखा नगरपालिका–१२ बाट कुमाल समुदायको पाङदुरे नाँच र जुनतारा महिला समूहको घाँटु नाँच लगायतको प्रस्तुती रहेको थियो । प्रतियोगितामा गायक चिज गुरुङ, शिला आले र पृथ्वी गुरुङको एकल तथा दोहोरी गीत प्रस्तुती समेत रहेको थियो भने ¥यापर हारवर्ड (सञ्जन आचार्य) ले आफ्नो प्रस्तुती दिएका थिए ।

साथमा गोरखा मल्टिट्यालेन्ट ग्रुपको लाइभ कन्सर्ट समेत भएको आयोजकले जनाएको छ । मेलामा सहभागीलाई निःशुल्क खानाको ब्यवस्था समेत गरिएको थियो । मेलाकै अवसरमा लायन्स आँखा अस्पतालले आँखा शिविर समेत संचालन गरेको बताइएको छ ।

संघका अध्यक्ष मास्केको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्ण राना, उपमेयर मसली माथा थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवनज्योती श्रेष्ठ, गोरखा उवासंघका बरिष्ठ उपाध्यक्ष अस्मकबाबु श्रेष्ठ, उपाध्यक्ष प्रकाशचन्द्र श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । लोप हुदैं गएको परम्परा र संस्कृति जर्गेनाका लागि मेला आयोजना गरिएको र आगामी बर्षदेखि यसलाई निरन्तरता दिइने गोरखा उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्