
गोरखामा चैते दशै मेला हुने
चैते दशैको अवसरमा गोरखा उद्योग वाणिज्य संघले मेला गर्ने भएको छ । लोप हुदैं गएको परम्परा र संस्कृति जर्गेनाका लागि यही चैत्र २३ गते मेला गर्न लागिएको वुधवार पत्रकार सम्मेलन गरी संघले जनाएको छ ।
‘विगत धेरै वर्षदेखि चैते दशै मेला हुन सकेको थिएन,’ संघका अध्यक्ष भगवानबाबु मास्केले भने, ‘अब भने यसलाई निरन्तरता दिनपर्छ भनेर हामीले मेला गर्न लागेका हौं ।’ गोरखा नगरपालिकाको पर्यटन महोत्सव अन्तरगत नगरपालिकाको प्रवद्र्धनमा मेलाको आयोजना गरिएको उनले बताए ।
गोरखा दरवारमा हुने मेलामा महिला समूहहरुबीच नौमती बाजा प्रतियोगिता हुने मेला संयोजक प्रकाशचन्द्र श्रेष्ठले बताए । गोर्खाली ठाडो भाकाको संवद्र्धन गर्न धार्चे र सिरानचोकबाट प्रस्तुती ल्याउने उनले जानकारी दिए । शहिदलखन गाउँपालिका–८ बाट भजन, वडा नं. २ बाट चुट्का, गोरखा नगरपालिका–१२ बाट कुमाल समुदायको पाङदुरे नाँच र जुनतारा महिला समूहको घाँटु नाँच लगायतको प्रस्तुती रहने बताइएको छ ।
त्यसैगरी गायक चिज गुरुङ, शिला आले र पृथ्वी गुरुङको एकल तथा दोहोरी गीत प्रस्तुती समेत हुने छ । युवा वर्गलाई लक्षित गरि ¥यापर हारवर्ड (सञ्जन आचार्य) को ¥याप र गोरखा मल्टीट्यालेन्ट ग्रुपको लाइभ कनसर्ट समेत हुने आयोजकले जनाएको छ ।
मेलामा ५ सय जनालाई निःशुल्क खानाको ब्यवस्था समेत गरिएको छ । मेलाकै अवसरमा लायन्स आँखा अस्पतालले आँखा शिविर पनि संचालन गर्ने बताइएको छ । मेला सम्पन्न गर्न करिब ४ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । दर्शनार्थी तथा दर्शक गरी करिव सात हजारले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।




