
आसामका नेपाली संस्कृति संरक्षणकर्मी संस्कृति अध्ययन गर्न गोरखामा
ऐतिहासिक जिल्ला गोरखाको संस्कृतिको अध्ययन गर्न आसामका नेपाली संस्कृति संरक्षणकर्मी गोरखा आएका छन् । ‘नेपाली संस्कृति सुरक्षा परिषद आसामका अध्यक्ष लीलबहादुर प्रधान, महासचिव वीरेन्द्र राना मगर नेतृत्वको १३ जनाको टोली गोरखा आइपुगेका हुन् ।
ठाडोभाका लोककला प्रतिष्ठान लम्जुङको निमन्त्रणमा चार दिने सांस्कृतिक अध्ययनका क्रमममा आएका उनीहरुले गोरखा दरबार, गोरखा संग्रहालय लगायतका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको भ्रमण गरेका छन् । गोरखा र लम्जुङ क्षेत्रमा प्रचलित संस्कृति र आसाम क्षेत्रमा प्रचलित संस्कृतिको अनुभव आदानप्रदान गर्ने उद्देश्यले चार दिने भ्रमणमा आएको महासचिव राना मगरले बताए ।
‘नेपाली संस्कृति बुझ्नका लागि आधुनिक नेपालका एकिकरणकर्ता राजा पृथ्वी नारायण शाहको जन्मस्थल गोरखाबाहेक अरु राम्रो ठाउँ कहाँ होला र’, उनले भने, ‘भौगोलिक र राजनीतिक दृष्टिले हामी पर भएपनि हाम्रो बैचारिक धरातल यही ठाउँमा जोडिएको छ । नेपालसँग हाम्रो रगतको नाता छ ।’ नेपाली संस्कृति सुरक्षा परिषदले आसाममा नेपालीपन, नेपाली संस्कृति र नेपाली परम्परालाई डोहो¥याएर हिँडेको उनले बताएका छन् ।
परिषदका अध्यक्ष लिल बहादुर प्रधानका अनुसार परिषदले आसामको मेट्रो सिटीमा करिब पाँच विगाहा जमिन खरिद गरी ‘नेपाली गोर्खा सांस्कृतिक प्रकल्प’ स्थापना गरेर नेपाली भाषा, संस्कृति र कला झल्कने सङ्ग्रहालय स्थापना गर्न लागेको जानकारी दिए । उक्त सङग्रहालय स्थापना गर्नका लागि नेपालबाट यहाँको परम्परागत नेपालीपन झल्कने सामाग्री लैजाने उद्देश्यसहित पदयात्रामा आएको उनले बताए । ‘आसाममा यहाँको मारुनी र कौरा सम्बन्धी प्रशिक्षण दिने इच्छा छ, त्यसका लागि पनि प्रशिक्षक खोजिरहेका छौँ’, उनले भने ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लम्जुङका अध्यक्ष नवराज पहाडीले नेपाली संस्कृति सुरक्षा परिषद आसामलाई नेपालको मौलिक लोककला संस्कृतिबारे केही ज्ञान सिप सिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् । परिषदको पदयात्रालाई मध्यनजर गर्दै प्रतिष्ठानले लम्जुङमा बाघचाल प्रतियोगिता, पात बजाउने प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए ।




