
सामागाउँमा सुरु भयो चुमनुब्रीकै ठूलो ‘सामा मानी सांस्कृतिक महोत्सव’
चुमनुब्री १ सामागाउँमा ‘सामा मानी सांस्कृतिक महोत्सव’ सुरु भएको छ । विभिन्न संस्कृतिक नाँचहरु प्रदर्शन गरेर बुधबारदेखि महोत्सव सुरु भएकोे स्थानीय मिङ्मार लामाले बताए । महोत्सवमा तिब्बतीे इतिहासमा प्रचलित ८ कथा मध्य ४ वटा प्रदर्शन गरिने उनले जानकारी दिए ।

पहिलो दिन त्यसमध्यको एउटा कथा प्रदर्शन गरिएको उनले बताए । लामाका अनुसार महोत्सवको पहिलो दिन घिउ अर्पण कार्यक्रम पनि भएको छ । उत्सव अवधिभर एक दिन स्वर्ग–नर्कको पनि कथा प्रस्तुत गरिन्छ । चुमनुब्री गाउँपालिकाभरिकै सबैभन्दा ठूलो मानिने यो महोत्सव सामागाउँको बीचमा रहेको खुल्ला ठाउँमा आयोजना गरिएको छ । ‘सामा मानी सांस्कृतिक महोत्सव’ सयबर्ष भन्दा पहिलेदेखि चलिआएको प्राचीन महोत्सव हो ।

प्रत्येक तीनबर्षमा हुने सो सांस्कृतिक महोत्सवको आयोजना लोटस फिट अफ मनास्लु हेरिटेजले गरेको हो । सातदिनसम्म सञ्चालन हुने यो मेलामा ओपेरा डान्स(परी नाच) हुनेछ । त्यस्तै घिउ अर्पण कार्यक्रम पनि हुनेछ । घिउ अर्पण कार्यक्रममा स्थानीयबासीले पाँच किलोग्राम, १० किलोग्राम घिउ अर्पण गर्ने गर्छन् ।

सो घिउ तीनबर्षसम्म गुम्बामा बत्ती बाल्न प्रयोग गर्ने प्रचलन रहेको छ । गुम्बामा बत्ती बाल्यो भने पाप पखालिने, सुख, शान्ति, संवृद्धि, कल्याण प्राप्त हुन्छ भन्ने विश्वास छ । त्यसैले घिउ दान गर्न गाउँले सबै र काठमाडौँदेखि पनि आउने उनले बताए ।
ओपेरा नाच हिमालयन संस्कृतिले भरिएको नाच हो । यसमा वोधिसत्वको कथायुक्त नाटक पनि हुने गर्छ ।

‘दिनभरि ओपेरा नाच र रातभरि स्याप्रु नाच हुने गर्छ’ उनले भने । यस मेला, महोत्सवमा विशेषगरी नुब्री क्षेत्रका सबै गाउँबाट र चुम उपत्यकाका दर्शक पनि आउने उनले बताए । महोत्सव अवधिभरि गाउँका बासिन्दा गाउँबाहिर नगै कार्यक्रममा सहभागी हुनेछन् । साथै विदेशी पर्यटकलाई पनि देखाएर देश, विदेशमा समेत प्रचार प्रसार गर्ने उद्देश्य आयोजकले लिएको छ ।
सयौंबर्षदेखि चल्दै आएको यस उत्सवलाई यसअघि गाउँमा मात्र सीमित राख्ने गरिन्थ्यो । अब भने प्रचारात्मक रुपमा लैजाने स्थानीय सामाजिक अगुवाहरुको तयारी छ ।




