| बुधबार, असार ९, २०८३

द्रव्यशाहको नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल पहिलो

गोनपा–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा आयोजित मावि स्तरिय तिज नृत्य प्रतियोगितामा यो वर्ष पनि ओल्ड क्यापिटल मावि नै पहिलो भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा बुधबार आयोजित प्रतियोगितामा ओल्ड क्यापिटल मावि रानीवन प्रथम भएको हो ।
गोरखा नगरपालिकाभित्र संचालित माध्यमिक विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा लक्ष्मीबजार स्थित महालक्ष्मी मावि दोस्रो बनेको छ भने मोर्डन सेकेन्डरी स्कुल तृतीय बनेको छ ।
प्रतियोगितामा शक्ति मावि पाटेचौर र रत्नलक्ष्मी मावि डुम्रीडाँडाले सान्त्वना स्थान हासिल गरेको आयोजक द्रव्यशाह क्याम्पसले जनाएको छ । पहिलो, दोस्रो र तेस्रोले क्रमश ५ हजार १००, ४ हजार १०० र ३ हजार १०० नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको बताइएको छ । सान्त्वना स्थान हासिल गर्ने २ विद्यालयहरुलाई रु १५÷१५ सयका दरले नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको बताइएको छ ।
नगरपालिका भित्रका १८ वटा मावि विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगिता नेपाली संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित आयोजना गरिएको द्रव्यशाह क्याम्पसका क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । विजेता टिमहरु बाहेक प्रतियोगितामा उपस्थित सम्पुर्ण सवद्यालयहरुलाई प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष शितलकाजी मास्केको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न नृत्य प्रतियोगितामा उपप्रमुख मसली माया थोकर, क्याम्पस प्रमुख एकदेव अधिकारी, स्ववियु सभापति शौनक घिमिरे, क्याम्पस कर्मचारी संघका अध्यक्ष सुजन कुँवर, प्राध्यापक संघका अध्यक्ष कुशललाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्