
गुम्दामा पाँचदिने आलु मेला सुरु, भलिबल प्रतियोगितामा आलु पुरस्कार
मेलिना बराम ।
आलुका लागि प्रसिद्ध धार्चे गाउँपालिका–५ गुम्दामा पाँचदिने आलु मेला सुरु भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवको संयुक्त आयोजनामा भदौ १ गतेबाट मेला सुरु भएको हो । संविधान सभा सदस्य एवमं पूर्व शहरी विकास राज्य मन्त्री छम बहादुर गुरुङले मेलाको उद्घाटन गरेका हुन् ।
गुम्दा एकता युवा क्लबका अध्यक्ष मनुराज गुरुङको सभापतित्व तथा पूर्वमन्त्री गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान गाउँपालिकाकी उपाध्यक्ष फुल माया गुरुङ, वडा नं. पाँचका वडाध्यक्ष भिमप्रसाद गुरुङ, निवर्तमान वडाध्यक्ष तुल बहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए ।
पाँच दिने आलु मेलाको मुख्य आकार्षण खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता रहेको कार्यक्रमका संयोजक मिन बहादुर सुनारले बताए । प्रतियोगितामा महिलातर्फ तीन टिम र पुरुष २२ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ प्रतियोगितामा प्रथम हुनेले नगद ७० हजार, ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच पाथी आलु प्राप्त गर्ने उनले जानकारी दिए । द्वितिय हुनेले नगद ४५ हजार, ट्रफी, मेडल, प्रमाणपत्रसहित तीन पाथी आलु पाउने भएको छ ।
तृतीय हुनेले ३० हजार नगद, र, ट्रफी, मेडल, प्रमाणपत्रसहित दुई पाथी आलु पाउने कार्यक्रम संयोजक विश्वकर्माले बताए । यस्तै महिलातर्फ प्रथम द्वितीय र तृतीय हुनेले क्रमश २० हजार, १५ हजार, १० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच, तीन र दुई पाथी आलु प्राप्त गर्ने छन् ।
कार्यक्रम अवधिभर लोक नृत्य प्रतियोगिता, आलु खाने प्रतियोगिता, रनिङ्ग नाँच प्रतियोगिता र हाँडी फुटाई प्रतियोगिता पनि आयोजना गरिएको क्लबले जनाएको छ । भलिबल प्रतियोगिता बाहेक अन्य प्रतियोगिताको पुरस्कार भने बराबर व्यवस्था गरिएको कार्यक्रम संयोजक विश्वकर्माले बताए ।
सो प्रतियोगिताहरुमा प्रथम हुनेले रु दुई हजार प्रमाण पत्र र पाँच पाथी आलु पाउने छन् । दोस्रो हुनेले रु १५ सयसहित प्रमाणपत्र र तीन पाथी आलु प्राप्त गर्ने भएका छन् । यसैगरी तेस्रो हुनेले रु एक हजारसहित पमाणपत्र र दुई पाथी आउने पाउने उनले बताए ।
गुम्दा, लाप्राक लगायतका आसपासका गाउँहरु आलुका लागि प्रसिद्ध क्षेत्रका रुपमा चिन्ने गरिन्छ । यहाँको मुख्य खाद्या बालीमध्य आलु पनि पर्दछ । यहाँ उत्पादित आलुहरु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौ लगायतका जिल्लामा निर्यात हुने गरेको छ ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष कम आलु उत्पादन भएको उनले जानकारी दिए । ‘अघिल्लो वर्षहरुमा भन्दा यो वर्ष आलु कम फल्यो,’ उनले भने, ‘लामो समय खडेरी लाग्यो, रोग लागेर पहिला भन्दा आलु केही सानो फलेको भएर उत्पादन कम भयो ।’
आलु उत्पादन राम्रो भएता पनि बजारसम्म पु¥याउन मोटर बाटोको अभाव हुने गरेको उनले गुनासो गरे ।
गाउँसम्म सडक बाटो पुगेता पनि बर्खाको समयमा पहिरो गएर सवारी आवतजावत ठप्प हुने भएकाले समस्या हुने गरेको उनले बताए । ‘सडक सञ्जालले त गाउँलाई छोएको छ नि तर, के गर्नु हिउँद महिना मात्र गाडी चल्छ, आलु उत्पादन हुने बेलामा गाडी चल्दैन,’ उनी भन्छन्, ‘ढुवानीको साधन नहुँदा उत्पादन भएको आलु घरायसी प्रयोजन, उपाहार दिने लगायतका काम गरेरै सकिन्छ ।’
पुर्खाहरुले बर्खा भरी अन्नबाली लगाई सकेपछि मेला गर्नु पर्छ भन्ने हेतुले आलु मेला सुरु भएको विश्वकर्मा बताउँछन् । उनका अनुसार पहिला आलु मेलालाई विस्तार गर्दै अहिले विभिन्न कार्यक्रम पनि आयोजना गर्दै आएको बताए ।




