| बिहिबार, असार १०, २०८३

माघ १५ गतेबाट खोर्लाबेसीमा ‘ऐतिहासिक तातोपानी मेला’ हुने

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने आयोजना हुने भएको छ । प्रत्येक वर्षको माघ १५ गते हुने मेला यसबर्ष पनि माघ १५ गतेबाट सुरु हुने मेला आयोजक समितिका संयोजक मिनबहादुर सुनारले जानकारी दिए ।

पाँचदिनसम्म चल्ने मेलामा धार्चेको विविध स्थानीय झाँकीसहितको सांस्कृतिक कार्यक्रमहरु संचालन हुने आयोजक संस्था ‘तातोपानी क्षेत्र संरक्षण तथा सम्र्बद्धन विकास केन्द्र’ले जनाएको छ । वर्षौंदेखि चल्दै आएको तातोपानी मेलासंग थुप्रै धार्मिक एवं संस्कृतिक महत्व जोडिएका छन् । उक्त परम्परागत संस्कृति र चालचलनहरुलाई निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक मिनबहादुर सुनारले बताए ।

‘१५ गते मेलामा हुने विभिन्न खेल तथा प्रतियोगिताहरुको टिम दर्ता, स्टल निर्माण लगायतका कामहरु हुन्छन् । १६ गते भने मेलाको औपचारिक उद्घाटन हुन्छ’, उनले भने, ‘यो वर्ष मेलाको उद्धघाटन गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वस्थ्य मन्त्री सुशीला सिंखडाले गर्ने कार्यक्रम छ ।’

धार्चेको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले मेला संचालन गरिएको हो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । ऐतिहासिक मेलामा भलिबल प्रतियोगिता, दौड प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका कार्यक्रमहरुको आयोजना गरिन्छ । यसै वर्षबाट महिलातर्फको भलिबल प्रतियोगिता पनि आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

भलिबल प्रतियोगितामा करिब २० टिमहरुको सहभागिता रहने बताइएको छ । पुरुषतर्फको भलिबलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५५ हजार र ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् । यता महिलातर्फको भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले भने क्रमशः २० हजार, १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्ने आयोजकले जनाएको छ ।

यो करिब १२ हजार मानिसहरुले मेला अवलोकन गर्ने र करिब ६० लाख बराबरको व्यापार हुने आयोजक संस्थाको अनुमान छ । मेलामा गोरखाको बारपाक, लाप्राक, गुम्दा, सिर्दिबास, लापु, केरौँजा, काशीगाउँलगायत ठाउँहरुका स्थानीयका साथै देशका विभिन्न जिल्लाका मानिहरुले मेला अवलोकन गर्ने कार्यक्रम संयोजक मिनबहादुर सुनार बताउँछन् । उनी भन्छन्, ‘मेलामा त सोलुखुम्बु, जाजारकोट, देखिका मान्छेहरु आउँछन् । उनीहरु मेलामा गलैचा, जडीबुटीहरु बेच्न आउँछन् । साथै, धादिङ, तनहुँ, चितवन, काठमाडौँदेखिका मानिसहरु व्यापार गर्न र मेला अवलोकन गर्न आउँछन् ।’

मेलाको अवसर पारेर आउने मानिसहरु एकआपसमा मित/मितिनी लगाउने चलन छ । वर्षेनी हुने मेलाको अवसरमा मेलाभर्न आउनेहरुले मितलगाउनेगर्छन् । तातोपानी मेलालाई मित लगाउने मेला भनेर पनि चिनिन्छ । यो चलन त्यहाँको धार्मिक एवं सांस्कृतिक महत्व बोकेको संस्कृति हो । तर, बिस्तारै मीत लगाउने प्रचलन हट्दैँ गएको छ । सोही परम्परा जोगाउनका लागि पनि मेलाको आयोजना गरिएको संयोजक सुनारले बताए ।

तातोपानी मेलामा जुवातास खेल्न नदिनका लागि, तथा मादक पदार्थ सेवन गरी झै झगडा हुन सक्ने हुँदा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनगर्ने गरिएको छ । सुरक्षाकर्मीको साथ र सहयोगले मेला व्यवस्थित हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्