
माघे सक्रान्तिको रौनक: कतै गोरु जुधाइ, कतै शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम
धार्मिक तथा सांस्कृतिक पर्व माघे सक्रान्ति गोरखामा धुमधामले मनाइएको छ । प्राचीन परम्पराअनुसार कतै गोरु जुधाइ कार्यक्रम गरेर मनाइएको छ भने कतै शुभकामना आदान प्रदान र कतै सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।
माघे सक्रान्तिलाई प्रमुख पर्वका रुपमा गोरखाका मगर समुदायले हर्ष उल्लासका साथ मनाएका छन् । महान सांस्कृतिक पर्वका रुपमा उनीहरुले माघे सक्रान्तिलाई मनाउने गर्दछन् ।
नेपाल मगर संघ, जिल्ला समन्वय समितिको आयोजनामा गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा जिल्लाका ११ वटै पालिकाबाट सहभागीहरु उपस्थित थिए । उनीहरुले नेपाल मगर संघको कार्यालयदेखि हरमटारीस्थित खेलकुद मैदानसम्म विभिन्न झाँकीसहितको ¥याली प्रदर्शनी गरेका थिए ।
साथै हरेक पालिकामा पालिकास्तरीय समितिले पनि अलग अलग कार्यक्रम गरी माघी मनाएका छन् ।
¥यालीमा सोरठी, मारुनी, झ्याउरे, चुट्का, पाङ्दुरे गीत तथा नाचहरु पनि प्रदर्शन गरिएको थियो भने मगर समुदायले पञ्चेबाजा बजाएर नाचगान गरेका थिए । सहभागीहरुले मगर जातिको मौलिकता झल्किने भेषभुषा पनि लगाएका थिए । उनीहरुले गोरखाको हरमटारीस्थित रङ्गशालामा औपचारिक समारोह आयोजना गरी शुभकामना आदानप्रदान गरेका थिए ।
मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष अशोक राना मगरको अध्यक्षतामा रङ्गशालामा आयोजित औपचारिक समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहनबाबु थापा मगर, गण्डकी प्रदेशका पूर्वमन्त्री लेखबहादुर थापा, मगर संघका केन्द्रीय सदस्य विष्णु राना मगर, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मगर संघका पूर्व अध्यक्ष अशोकबाबु राना मगर, आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष प्रेमध्वज थापा मगर, नेकपा एमालेका जिल्ला सचिव काजीराम रोका, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा पूर्व अध्यक्ष अशोकबाबु राना मगर, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण आले मगर र राष्ट्रिय वाणिज्य वैँकका प्रवन्धक सुजन क्याप्छाकी मगरलाई सम्मान गरिएको थियो । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यस पर्वलाई विशेषगरी थारु र मगर समुदायले मुख्य चाडपर्वका रुपमा मनाउँछन् भने अन्य समुदायले पनि माघे सक्रान्तिका रुपमा विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् ।




