
पालुङ्टार हवाइमैदानमा ‘माघेसक्रान्ति विशेष उत्सव’ हुने
मगर समुदायको महान पर्व ‘माघेसङ्क्रान्ति’को अवसरमा गोरखाको पालुङ्टार नगरपालिकामा माघेसंक्रान्ति उत्सव मनाइने भएको छ ।
नेपाल मगर संघ, पालुङ्टार नगरपालिका कमिटीले पालुङटारको हवाइमैदानमा विशेष उत्सवका रुपमा दसौँ माघेसक्रान्ति उत्सव २०८० मनाउन लागेको आइतबार पक्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
गोरखा क्षेत्र नं.२ का तीन पालिकाहरुले आलोपालो गरेर आयोजना गर्नेे क्रममा यसबर्षको माघेसंक्रान्ति पर्व पालुङ्टार नगरकमिटीले आयोजना गरेको हो ।
सो समारोहमा गोरखाको पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा बसोबास गर्ने मगर समुदायले संयुक्त रुपमा उक्त पर्व मनाउने आयोजकले जनाएको छ ।
पर्वको मुख्य उद्देश्य मगर समुदाय माझ एकता कायम गर्ने रहेको नेपाल मगर संघ, गोरखा क्षेत्र नं.२ का समिति सचिव बेदबहादुर रानाले बताए ।
पर्वको माध्यमबाट नयाँ पुस्ताहरुलाई मगर समुदायको भेषभुषा, खानाका परिकार र संस्कृति चिनाउने उनले बताए ।
मगर जातिको संस्कृति र परम्परालाई प्रवद्र्धन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको मगर संघको नगर कमिटिका अध्यक्ष मानबहादुर आले मगरले बताए ।
क्षेत्र नं २ मा तीन वटा पालिकाको मगर समुदायहरुको करिब ३० वटा भेजा (गुठी) रहेका छन् । ३० वटा भेजाहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्ने आलेले बताए ।
नेपाल मगर संघ, गोरखा क्षेत्र नं.२ ले बिगत १२ वर्षदेखि मगर समुदायको संस्कृति जोगाउने उद्देश्यले हरेकवर्ष सामुहिक रुपमा विशेष समारोहको आयोजना गरी माघे सङ्क्रान्तिको पर्व गर्दै आएको छ ।
‘बीचमा दुईवर्ष कोरोनाको कारणल पर्व मनाउन पाएनौँ’, अध्यक्ष आलेले भने, ‘गतबर्षदेखि फेरि यो पर्वलाई निरन्तरता दिएका छौँ ।’
माघे सङ्क्रान्तिका दिन हुने कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने छ । कार्यक्रममा मगर समुदायको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने छ ।
पर्वमा करिब सातहजार मगरहरु सहभागी हुने आयोजकले जनाएको छ ।
‘मगर इतिहास, भाषा, लिपि, संस्कृति संरक्षण सम्वद्र्दन मगरहरुको मुलतन्त्र, मगराँत पहिचान र स्वायत्त शासन सहितका संघीय लोकतान्त्रिक गणतन्त्र’ मुल नाराका साथ पर्व मनाइने आयोजकले जनाएको छ ।
पालुङटार नगरपालिको नेपाल मगर संघ, ताल पोखरी भेजाको आयोजनामा हुने उक्त पर्व पालुङटार नगरपालिको वडा नं ५÷६ मा पर्ने हवाईग्राउण्डमा मनाईने बताइएको छ ।




