| बुधबार, असार ९, २०८३

शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

गोरखामा शनिबार सम्पन्न जिल्ला स्तरीय शिक्षक नृत्य प्रतियोगितामा नेपाने माविका गोपिराम गुरुङ र धर्मावती माविका वर्षा ढकालको टिम प्रथम भएका छन् । सामाजिक विकास कार्यालयद्वारा आयोजित शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको नृत्य प्रतियोगितामा सो टिम प्रथम भएको हो । सोही प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारका रमिला पन्त र सीता बोगटीको टिमले दोस्रो र विन्दवासिनी माविकी लक्ष्मी सुनार र लक्ष्मी पन्तको टिमले तेस्रो स्थान हाँसिल गरेका छन् । प्रतियोगितामा गोरखाका आठ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीतर्फको नृत्य प्रतियोगितामा महालक्ष्मी माविका निशा देवकोटा, युनिसा राना, जेन्सिका श्रेष्ठ, चन्द्र गुरुङ र राज गुरुङले प्रथम स्थान हात पारेका छन् । शक्ति माविका पाटेचैरका विद्यार्थी टिमले दोस्रो र जागेश्वर मावि बोर्लाङका टिमले तेस्रो स्थान हासिल गरेका सामाजिक विकास कार्यालयका तुलसिँह गुरुङले जानकारी दिए ।

प्रथम, द्वितीय र तृतीय हुने शिक्षक र विद्यार्थी दुवै टिमले क्रमश रु १२ हजार, आठ हजार र पाँच हजार नगद सहिद प्रमाणपत्र प्राप्त गरेका सामाजिक बिकास कार्यलय गोरखाका तुलसिंह गुरुङले जानकारी दिए ।

शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत शुक्रबार सम्पन्न वक्तृत्वकला प्रतियोगिताकोे शिक्षकतर्फको प्रथम स्थान महालक्ष्मी मावि, ताप्लेकी विष्णुमाया बस्नेतले हात पारेकी छिन् । दोस्रो स्थान विन्ध्यवासिनी मावि नारेश्वरका उदयबहादुर भट्टले र तेस्रो स्थान महेन्द्र मावि, कुन्दुरटारका मिनबहादुर नेपालीले हात पारेका छन् ।

यसैगरी बिद्यार्थी तर्फको वक्तृत्वकला प्रतियोगिताको उपाधी त्रिवेणी मावि, पालुङटारकी सिमाना लामाले हात पारेकी छिन् । प्रतियोगिताको दोस्रो उपाधी शक्ति मावि, पाटेचौरका खुखु कुमारी जैसवालले र तेस्रो उपाधी श्री दरबार मावि आरुपोखरी आरुघाटकी एजना सुर्खेतीले हात पारेकी छिन् । वक्तृत्वकला प्रतियोगिताका बिजेताहरुले क्रमश रु छ हजार, पाँच हजार र चार हजार सहिद प्रमाण पत्र प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत प्रदेशका ११ वटै जिल्लाहरुमा शिक्षक तथा बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम संचालन गर्दै आएको छ । जिल्ला स्तरीय प्रतियोगीताका बिजेताहरुले यही पुष २७ र २८ गते हुने प्रदेश स्तरीय प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने कार्यालयका तुलसिंह गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्