
योमरी पुन्ही संस्कृति जगाउँदै गोरखाका नेवार समुदाय
धान्यपूर्णिमाका दिन नेवार समुदायले मनाउने योमरी पुन्ही पर्व जगाउन गोरखाका नेवार समुदाय लागि परेका छन् । ओझेलमा पर्दै गएको सो पर्व र संस्कृतिको संरक्षण गर्न यसबर्षदेखि गोरखाका नेवार समुदाय जुटेका हुन् ।
नेवाःदेय दवुले विहिबार गोरखा सदरमुकामको रानीपोखरीमा हर्सोउल्लासका साथ यो पर्व मनाएको हो ।
यसअघि यो पर्व नेवार समुदायले घरघरमा मात्रै मनाउँदै आएका थिए । यो वर्षबाट सामुहिक रुपमा सबै भेला भएर मनाउन थालेको नेवाः देय दवु गोरखाका जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए । योमरी पुन्ही नेवार समुदायको मौलिक एवं प्रचलित खाना योमरीसँग जोडिएको छ । योमरीको शाब्दिक अर्थ मिठो रोटी हो । यो दिनमा योमरी, चटामरी, बारा, छोईला लगायत नेवारी खानाका परिकार बनाएर खुवाउने गरिन्छ । त्यस्तै, योमरीलाई भकारीलगायत अन्नको भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ ।
यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको उनले जानकारी दिए । घरभित्र मात्र सिमित रहेको नेवारी खाजाहरुलाई बाहिरका समुदायलाई परिचित गराउन र स्वाद चखाउनका लागि पहिलो पटक सामुहिक रुपमा प्रथम योमरी पुन्ही २०७९ मनाइएको नेवा देय दवु गोरखा नगर समितिका अध्यक्ष राहुल बज्राचार्यले बताए ।
नेवारी खानाको परिकार बनाउने संस्कार लोप हुन लागेकाले यसलाई संरक्षण गर्न सामुयीक रुपमा कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार यो पर्व हरेक वर्ष नेपाल संवतको दोस्रो महिनामा मनाउने गरिन्छ ।
योमरी पुन्ही पर्व घरभित्र मात्र मनाउदा नेवार समुदायमा मात्र सिमित हुने भएकाले सबैलाई यो पर्वको बारेमा जानकारी हुनेछ । नयाँ धान भित्रएको बेला यो पर्व मनाउने गरेको बताउँदै किसानले खेतवारीमा गरेको दुख विर्साउन चामलको पिठोबाट बनाएको योमरी अर्थात मिठो रोटी खाने परम्परा रहेको उनले बताए ।
रानीपोखरीमा भएको कार्यक्रममा नेवारी भाषाका गीत, बाजागाजा सहितको नाँच प्रस्तुत गर्नुका साथै पाँच वटा स्टलमा नेवारी खानका परिकार राखिएको थियो । आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिने नेवा देय दबुले जनाएको छ ।
नेवार समूदायहरुले ज्यापू दिवसको रुपमा यो पर्व मनाउने गर्छन् । यस दिन नेवारी समूदाय चामलको पिठोमा चाकु लगायतका सामाग्रीको झोल मिसाएर योमरी बनाएर खाने गर्छन् ।
नेवार समुदायमा योमरीको निकै महत्व रहेको पाइन्छ । नेवार समूदायमा बच्चाको दुई र चार वर्षको जन्म दिनमा अनिवार्य रुपमा योमरीको माला लगाइ पुजा गर्ने प्रचलन छ । यस्तै दिदी बिहिनीहरुलाई भेटघाट (नखेट) मा बोलाउदा पनि योमरी बनाएर खुवाउने चलन रहेको छ ।
किम्बदन्ती अनुसार तत्कालीन पाञ्चाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान विष्णुका परम भक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्माणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्माणरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको योमरी खुवाइन् ।
उनको सत्कारदेखि प्रशन्न भई कुवेरले आफ्नो असली रुप देखाई योमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । उनी गएपछि सुचन्द्र दम्पतीले धानको भकारीमा योमरी चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति अझ वृद्धि भएको खबर जताततै फैलियो । त्यही समयदेखि नेवार समुदायमा योमरी पूर्णिमाको महत्व बढेकोे मान्निछ ।




