| आइतवार, कार्तिक २२, २०८३

गोरखा हरमटारीमा तेस्रो गोरखकाली मेला हुने

गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी हरमटारी क्लवको आयोजनामा असोज ४ गतेदेखि १४ गतेसम्म मेला हुन लागेको जनाएको हो ।
‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रबद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने नाराका साथ मेला आयोजना गर्ने आयोजकले जनाएको छ ।

नेपालको इतिहासलाई संरक्षण गर्दै पुर्खाको वीरता र वीर गाथाको प्रष्फुटन गर्न र जिल्लालाई पर्यटकीय हवका रुपमा विकास गर्नमा सहयोग पु¥याउन मेला आयोजना गर्न लागिएको क्लवका संयोजक आशिष श्रेष्ठले बताए । मेलामा गोरखा जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वयमा गरी सबै जातजातिको भेषभुषा, संस्कृति तथा लोपोन्मुख जातिको कला संस्कृति प्रदर्शन गर्ने तयारीमा रहेको उनले बताए । स्थानीय तथा राष्ट्रिय स्तरका स्रष्टा तथा कलाकारहरुको प्रस्तुति पनि मेलामा रहने क्लवले जनाएको छ ।

मेलालाई विगतमा भन्दा फरक तरिकाले सञ्चालन गर्न लागेको समेत उनले बताए । उनका अनुसार मेला परिसरभित्र डाक्टर सहितको आकस्मिक स्वास्थ्य शिविर, स्वच्छ खानेपानी र संचारको सुविधा मिलाइनेछ । कृषि, शिक्षा, स्वास्थ्य लगायतका छुटाछुट्टै स्टलहरु रहने गरी करिब एकसय वटासम्म स्टलहरु रहने उनले जानकारी दिए । हरमटारी रंगशालामा हुने मेलामा करिब ३५ हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

मेलामा टिकटको व्यवस्था लागु हुनेछ । मेलामा औद्योगिक प्रदर्शनी, खाना महोत्वस, कन्सर्ट कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, विभिन्न जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने क्लवका महासचिव किरण ढकालले जानकारी दिए ।

तेस्रो गोरखकाली मेला आयोजनाका लागि ५२ लाख आम्दानी हुने र ४७ लाख खर्च हुने अनुमान गरिएको छ । जम्मा पाँच लाख बचत हुने अनुमान गरिएको र सो रकम गोरखकाली रनिङ कप आयोजना गर्ने बाँकी बचत भएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने मेलाका संयोजक श्रेष्ठले जानकारी दिए ।

दरबारदेखि दरबार सम्मको पदयात्रा कार्यक्रममा पनि संचालन हुने उनले बताए । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, गोरखा नगरपालिका वडा नं ६ को कार्यालयको अनुमतिमा खेलमैदानमा मेला आयोजना गर्ने क्लवले जनाएको छ ।
साथै असोज ३ गतेदेखि १६ गतेसम्म गोरखा नगरपालिका १० को छेपेटारमा तामाङ समाजले पनि दशैँ रमाइलो मेला आयोजना गर्न लागेको छ । गोरखा नगरपालिकाभित्र एउटै मितिमा दुई ठाउँमा मेला हुन लागेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्