
स्वास्थ्य मापदण्ड अपनाउँदै टोलटोलमा गाईजात्रा मेला
बिगतमा हर्ष उल्लासका साथ टोलटोलबाट गाईजात्रा निकाल्दै बजार परिक्रमा गरिन्थ्यो तर यसपटक कोभिड १९ को जोखिमका कारण टोलटोलमा मात्र गाईजात्रा निकालिएको छ ।
सँधै पाइला राख्न नसकिने गरी मेला लाग्ने ठूलोआँगन र उत्कृष्ट टाकटुके नाच प्रदर्शन गर्ने छिपिटोल, नयाँबजार क्षेत्रमा पनि यसपटक सीमित संख्याका जात्रुहरुले सीमित समयसम्म नाच प्रदर्शन गरेका थिए ।
यसअघि सोमबार बिहान दिवङ्गत आफन्तको सम्झनामा मानिसलाई गाईको प्रतिक बनाएर गाई निकालिएको थियो । मृतकका परिबार र आफन्तको सानो समूहले गाई निकालेर नगरपरिक्रमा गरेका थिए । मृतकका परिवार र आफन्तका आठ–दश जना भेला भई गाई निकालिएको हो ।
जिल्लाभित्र कोरोना सङ्क्रमण फल्ने क्रम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ ११ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । जसका कारण हरेक वर्ष गाईजात्राको दिनमा देखिने बजारक्षेत्रको रौनक सोमबार नदेखिएको हो ।




