| बिहिबार, साउन २९, २०७७

दोस्रो कागबेनी धार्मिक तथा सांस्कृतिक मेला भब्य रुपमा सम्पन्न

पालुङटार नगरपालिका वडा नं. २ र सिरानचोक गाउँपालिका वडा नं. ४ को सीमानामा रहेको कागवेनी मन्दिरमा दोस्रो धार्मिक तथा सांस्कृतिक कागबेनी मेला बुधबार सम्पन्न भएको छ । पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको सहयोग तथा कागवेनी मन्दिर संरक्षण समितिको समन्वयमा मंगलबारदेखि सुरु भएको दुई दिवसीय मेला बुधबार सम्पन्न भएको हो ।

मेलाको मुख्य कार्यक्रमको तथा नवनिर्मित कागवेनी मन्दिर र चौताराको प्रदेश सभाका सांसद प्रकासचन्द्र दवाडीले उद्घाटन गरेका थिए ।

माघे सक्रान्तिको अवसरमा मन्दिर परिसरमा मंगलबार बेलुका छ बजेदेखि रातभरि १०८ दीप प्रज्वलन गरी लामा पुजारीबाट पूजाआजा कार्यक्रम भएको थियो । रातभरि ढ्याङ्ग्रोसहित झाँक्री नाच पनि भएको थियो ।

माघे सक्रान्तिको दिन बिहान ११ बजेसम्म भक्तजनहरुले ल्याएको चार ठाउँको फूलको डोली तार्ने काम भएको थियो । मेलाको औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभाका सांसद प्रकासचन्द्र दवाडी, जिल्ला समन्वय समितिका सदस्य मानप्रसाद धिताल, पालुङाटार नगरपालिका १ का अध्यक्ष कृष्णबहादुर परियार, वडा नं. २ का अध्यक्ष लोकनाथ वाग्ले, सिरानचोक गाउँपालिका वडा नं. ४ का अध्यक्ष दीपक हमालले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

मन्दिर संरक्षण समितिका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा सम्पन्न मेलामा कोषाध्यक्ष दीपक घिमिरेले आर्थिक प्रतिवेदन पनि पेश गरेका थिए । कोषाध्यक्ष घिमिरेका अनुसार मन्दिर निर्माणमा करिब चारलाख ४७ हजार नौसय रुपैयाँ खर्च भएको थियो । जसमा पालुङटार नगरपालिकाबाट एकानब्बे हजार नौसय रुपैयाँ, सिरानचोक गाउँपालिकाबाट ९२ हजार चारसय रुपैयाँ मन्दिर निर्माणका लागि प्राप्त भएको थियो । त्यस्तै बिभिन्न व्यक्तिहरुबाट चन्दास्वरुप दुईलाख १४ हजार प्राप्त भएको थियो । खर्च भएको जति रकम अझै संकलन गर्न नसकिएको अध्यक्ष पोखरेलले बताए ।

मेला उद्घाटन गर्दै प्रदेशसभा सांसद दवाडीले कागवेनी मन्दिरमा एकसय आठ धारा निर्माण गर्न पहल गर्ने घोषणा गरेका छन् । त्यस्तै सोही कार्यक्रममा सारंगी संसार यूट्यूव च्यानलबाट लाइभ प्रशारण गरिएको थियो । त्यस्तै लोकगायक प्रदीप त्रिपाठी र सुनीला गुरुङ लगायत बिभिन्न कलाकारहरुले आ(आफ्ना प्रस्तुती प्रदर्शन गरेका थिए । माघ दुई गते बिहान ११ बजे लिगलिगकोट विकास अभियानको सहकार्यमा लिगलिग कोटमा लाइभ दोहोरी कन्सर्ट हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्