| आइतवार, कार्तिक २२, २०८३

दशै सस्तो मेलाको चुनौती : एन्फाको बिरोध साम्य, उद्योग वाणिज्य संघ आवद्ध ब्यापारीको बिरोध सुरु

हरमटारीस्थित खेलकुद मैदानको बिषयमा गोरखा च्याम्बर अफ कमर्श र अखिल नेपाल फुटबल संघ(एन्फा) गोरखा बीच जारी विवाद मिलेको छ । गोरखा च्याम्बर अफ कमर्शले खेल मैदानमा असोज ८ गतेदेखि दशैं सस्तो मेला गर्ने भनेपछि भएको विवाद मिलेको हो । मैदानमा एन्फाद्वारा निर्माणाधीन संरचनाका लागि क्षतिपूर्तिवापत चेम्बर अफ कमर्शले छ लाख रुपैयाँ दिने समझदारीपत्रमा बिहिबार चेम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ र एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ बीच हस्ताक्षर भएको हो ।सहमतिपछि चेम्बर अफ कमर्शले खेलकुद मैदानमा निर्वाध रुपमा दशैं सस्तो मेला गर्न पाउने भएको छ । सो मैदानमा फुटबल प्रतियोगिता गर्ने तयारी रहेको भन्दै एन्फाले मेला सञ्चालन गर्न नदिने भन्दै बिरोध गरेको थियो ।

मेलास्थलको विवाद सकिएपनि उद्योग वाणिज्य संघ गोरखामा आबद्ध ब्यबसायीहरुले गोरखा च्याम्बर अफ कमर्शले गर्ने दशैं सस्तो मेला स्थगित गर्न दबाब दिएका छन् ।

संघको समानान्तर संस्था गोरखा चेम्बर अफ कमर्सले आयोजना गरेको मेला स्थगन गर्न माग गर्दै उनीहरुले बिहिबार विरोध ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

कपडा ब्यबसायीको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा गैर ब्यबसायी र विदेशी विचौलियाको साँठगाँठमा सदरमुकाम र आसपासका ब्यबसायीको हकहितविरुद्ध मेला रहेको तर्क छ ।

उद्योगी तथा ब्यापार ब्यबसायीको तर्फबाट ज्ञापन पत्र बुझाइएको उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कपडा ब्यबसायी जिवनज्योती श्रेष्ठले बताए । सस्तोको नाममा मेलामा ठगी हुने श्रेष्ठको आरोप छ । ‘मुखले मात्र सस्तो भनेर हुन्छ ?’ उनले भने ‘गतबर्षको मेलामा पनि देखियो नि, कस्तो सामान हुन्छ भनेर । भित्र केहि सामान सस्तो पनि हुँदैन, गुणस्तरीय पनि हुँदैन । बिल बिजक नभएका सामान बेचविखन हुन्छन् ।’ मेलाले जिल्लामा राजस्व तिरेर बसेका ब्यबसायीलाई प्रत्यक्ष मर्का पर्ने अर्का फेन्सी ब्यबसायी शरदबाबु श्रेष्ठले बताए । ‘मेला हुनु नै हुँदैन भन्ने कुरा होईन, तर दशैंको मुखमा हुन भएन’ उनले भने ‘मासिक ५० हजार रुपैयाँसम्म सटर भाडामा लिएर ब्यबसाय गर्छौ । दशैंमा ब्यापार हुने सिजनमा सस्तो मेला हुँदा हाम्रो ब्यापार प्रभावित हुने भयो । बाहिरका ब्यापारीले मेलामा आएर जिल्लाको पैसा लाने भए ।’

उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष किशोरजंग थापाले सिजनलाई आधार मानेर ब्यबसायीले सस्तो मेलाको विरोध गर्नु उचित नभएको तर्क गरे । मौसमलाई आधार मानेर समर्थन र विरोध गर्नु राम्रो होईन’, उनले भने, ‘उपभोक्ताले गुणस्तरीय र सस्तो सामान चाहन्छन् । चाडबाडको बेला सरकारले नै सस्तो पसल खोलिरहेको हुन्छ, तर यहाँ निजी क्षेत्रले सस्तो मेला गर्न खोज्दा विरोध गर्नु राम्रो होईन । ब्यबसायीहरु प्रतिस्पर्धी बनेर सामान बिक्री गर्न सक्नुपर्छ । मेलामा वा बाहिर कहाँ सामान किन्ने उपभोक्ताको आफ्नो रोजाईको कुरा हो ।’

१० दिने मेलाको तयारीमा जुटेको गोरखा चेम्बर अफ कमर्सले भने नाफामुखी नभई ब्यबसायी र उपभोक्ताको हित अनुसार नै मेला गर्ने जनाएको छ । ‘हामीले जिल्लाका ब्यबसायीलाई दश हजार रुपैयाँमा स्टल राख्न दिएका छौं, बाहिरका ब्यबसायीसँग प्रतिस्टल २५ हजार लिन्छौँ’, गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले भने, ‘बजारमा भन्दा मेलामा निकै सस्तोमा सामान बिक्री हुन्छन्, सात सय पर्ने टप्स दुई सयमा पाइन्छ, ६० रुपैयाँ पर्ने कप ३० रुपैयाँमा पाईन्छ । सस्तोको नाममा हामीले ठगी गर्नु छैन ।’ मेलामा नुन, चिनी, दैनिक उपभोग्य सामाग्री बजार मुल्य भन्दा सस्तोमा उपलब्ध गराउने उनले दाबी गरे ।
मेलामा स्टल राख्ने सबै ब्यबसायीले स्थायी लेखा नं सहित कारोबार गर्ने उनले स्पष्ट पारे । हरमटारीस्थित खेल मैदानमा हुने मेला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाइसकेको छ । गोरखा नगरपालिकाले भने अनुमति दिन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले यस विषयमा सरोकारवाला सबैसँग आबश्यक छलफल गरेर उचित निकास निकाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्