| शुक्रबार, अशोज ३, २०७६

झुप्रीलाई गाउँ फर्कनै मन छैन

भगवानले पनि जन्म दियो आँखा दिन, भगवानले पन ऽऽऽ
दूधै नलाई कन आमाले मारिनन् किन, दूधै नलाई कन ऽऽऽ
लैजा काल मलाई मन छैन संसारमा रने, लैजा काल मलाई ऽऽऽ
आमा दूध नलाई मार्दिउ भन्ने याद आएन आमा दूध नलाई ऽऽऽ

अछाम तारेखा गाउँको वनपाखामा गुञ्जिरहने यो गीत आजभोलि ‘भ्वाइस आफ नेपाल’को एउटा कोठामा गुन्जिरहेको छ ।झुप्री भण्डारीले आफ्नो जीवनको दुःख मथेर यो ठाडी भाका तयार पारेकी हुन् । उनीसँग दृष्टि छैन तर, निकै कममा हुने कर्णप्रिय स्वर छ । त्यही स्वरमा आफ्नो जीवन भोगाईको सानो अंश शनिबार रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिसनमा गाइन् । अनि दर्शकको आँखामा छाइन् ।झुप्रीलाई ह्वाइट केन (सेतो छडी) के हो थाहा छैन । गाउँबाटै टेक्दै आएको काठको लठ्ठी छ । त्यसैले काठमाडौंको बाटो खुट्याउँछिन् । बीचबाट सिउँदो काँटेर चिटिक्क एक चुल्थे कपाल बाटेकी छिन् । घाँटीमा तीन वटा पोते छन् । एउटा पहेँलो तिलहरी । तिलहरी ग्यारेण्टी वाला रे । काठमाडौं आउँदा सदरमुकाम मंगलसेनमा किनेको । घाँटीमा टमक्क चाप बाँधेकी छिन् । भन्दैछिन्, ‘चाँप बाँध्न त मन पर्छ नि ! बरु नयाँ कपडा लगाउँनै मन पर्दैन ।’

यतिबेला भने झुप्री रातो रङको फुलबुट्टे नयाँ कुर्ता सुरुवालमा सजिएकी छन् । त्यही कुर्तामा उनी दुई हप्तादेखि भ्वाइस अफ नेपालको बन्द प्रशिक्षणमा छिन् ।

र, पनि झुप्रीलाई बाँच्नै मन छैन । किन ? यसको जवाफ उनीसँग होइन उनको समाजसँग छ । जुन समाजमा उनले अपमान, घृणा र तिरस्कार पिउँदै जीवनको ३० वर्ष बाँचिन् ।एक जना दिदीपछि झुप्री जन्मिएकी थिइन् । उनीपछि दुई भाइ र एउटी वहिनी जन्मिए ।

मंगलसेन नगरपालिका ६ ठूलासेनाको त्यो भिरालो पाखामा दृष्टिबिनाकी झुप्रीले बल्यकालमा कति संघर्ष गर्नुपर्‍यो ? यो सबै सुनाउन झुप्री उत्साहित छैनन् ।

बरु मर्नका लागि गरेको संघर्ष पो सनाइन् । जसको लागि उनले १३ वर्षको उमेरमा मुसाको विष सेवनको गरेकी थिइन् । त्यतिबेला उनलाई लागेको थियो, ‘पल पल मरेर बाँच्नुभन्दा एकै पटक मर्नु आनन्द ।’ तर, झुप्रीको शरीरले त्यो विष पचायो ।

अर्को पटक फेरि मेटासिट पिइदिइन् । निकै असहज मान्छिन्, झुप्री खुल्नलाई । उलने असहज कुरा नै भनिन्, ‘मलाई त कालले पनि माया गरेन ।’झुप्रीको उमेरको ग्राफ जतिजति उकालो लाग्दै जान्थ्यो, आफ्नो जीवनलाई उनले त्यति त्यति नै सराप्न थालिन् ।किनकी साथीहरुले साथ छाडे । उनीसँग हिँड्ने कोही भएनन् । जता हिँड्थिन, एक्लै हन्थिन् । र, सोच्थिन्, ‘मैले पनि देख्न सक्ने भएका त साथी हुन्थे होला नि है ।’

विस्तारै घर भित्रको काम सम्हाल्न थालिन् । दैलो लिप्थिन्, खाना पकाउँथिन्, भाँडा माझ्थिन्, गाईवस्तुको स्याहार गर्थिन्, धारासम्म पुगेर पानी बोकेर पनि ल्याउँथिन् ।उनी १०/११ वर्ष भइन् । कामको जिम्मेवारीले झन् झन् थिच्दै गयो । घाँस–दाउरा काट्न जान थालिन् । दुई काम भने भने गर्न सकिनन्, ‘एउटा रुख चढ्ने र अर्को रोटी हाल्न ।

तर, गाउँका मानिस कोही पनि उनको नजिक पर्दैनथे । कति त बाटोमा हिँड्दा पनि तल झर्थे । केटाकेटीहरुले गर्ने खिसिट्युरीको धारिलो बाँणले उनलाई विछिप्त पार्थे ।

झुप्रीलाई माया भन्ने के हो थाहा थिएन । यतिसम्मकी उनी बाँचेकोमा आफन्तहरु नै खुशी थिएनन् ।

निराशाको पोको फुकाउँछिन्, ‘गाउँमा कसैले राम्रो भन्दैन । कहिलेकाँही नयाँ कपडा लगाएको दिन पनि गाउँलेले यस्तीलाई पनि के नयाँ कपडा चाहिएको होला भनिदिन्छन् ।’

झुप्री यसरी जन्मिनुमा उनको के दोष ! तर, समाजबाट उनैमाथि दोषहरु बर्सिरहे ।

यस्तै व्याथालाई झुप्रीले गीतमा उन्न थालिन् र गाउन थाल्थिन् । तर, कसैले सुन्यो भने उनलाई भन्थे, ‘यस्तो मान्छेले के रहरले गीत गाउन परेको हेला ।’

परिणाम, उनी डरैडरले कसैको कसैको अगाडि गीत गाउन नसक्ने भइन् । न कसैको अगाडि गएर गर्वका साथ उभिन्थिन् । उनको सबैभन्दा नजिकको साथी कोही थियो भने गीत नै थियो । र, अर्को साथी– आँशु । उनलाई संसारमा सबैभन्दा मन पर्ने भनेकै दुई कुरा हुन्, ‘एउटा रुनु र अर्को आँशु गाउनु ।’झुप्री आफ्नो दुःखमा बाँचिरहेकै थिइन् । उनलाई लाग्थ्यो कि तारेखा बाहेक अर्को संसार छैन । एक दिन दुई भाइका दुई छोरा स्याहार गरेर घरमा बसिरहेकी थिइन । उनको कथा सुन्न विद्या चापागाईं पुगिन् । कलेटी परेको कुर्तामा उनले निकै सुन्दर गीत गाइन् ।

गाएपछि धेरैपछि खुलेर हाँसेकी थिइन् ।त्यसलनाई नजिकबाट नियालिरहेका थिए छिमकी कमल भण्डारी, जसले ‘द भ्वाइस अफ नेपाल’को स्टुडियोसम्म ल्याए । नत्र उनको जिन्दगी काठमाडौं नदेखेरै सकिन्थ्यो कि !६ जेठ । त्यो दिन झुप्री साढे पाँच बजे नै उठिन् । ७० वर्षीय बाबाको हात समाटिन् र साढे छ बजे बाटो लागिन् । आधा घण्टा हिँडेपछि मोटरबाटो आइपुग्यो ।

अनि झुप्री जीवनको पहिलो पटक गाडी चढिन् । काठमाडौं आइपुग्न उनी हिचकिचाएकी थिइन् । कमल पनि उनीसँगै थिए । बसमै उनले भनेकी थिइन्, ‘मैले के गाउँछु र ! मेरो गीत कसले सुन्ने हो र !’ खासमा झुप्री कुस्तुरी जस्ती थिइन्, जो आफ्नो पेटको सुगन्धयुक्त विना बाकेर सुगन्ध खोज्न दौडिरहन्छ ।

मंगलसेनबाट गाडी चलेदेखि नै उनको बान्ता रोकिएन । झुप्रीले खोक्दै भनेकी थिइन्, ‘अब त मरे पनि काठमाडौं जादिनँ ।’

बल्लतल्ल काठमाडौं आइपुगिन् । गीत गाइन् । र, ४४ दिन बसेर घर फर्किइन् ।

झुप्रीको काठमाडौं बसाईंका उपलब्धी सुन्न कोही पनि उत्साहित थिएनन् । झुप्रीलाई धाप मारेर स्याबासी दिने पनि भेटिएनन् । बरु भेटेकाले भने, ‘खुब गाउने भएकी । कसले भोट हाल्दोरहेछ, कसको भोटले अगाडि बढ्दोरहेछ हेरौंला ।’

हाम्रो समाजले जहिले पनि प्रहारका लागि कमजोरीहरु खोजिरहन्छ । कमजोरहरुलाई बलियो बनाउनुपर्छ भनेर सोच्नेहरु कमै छन् । झुप्रीको गाउँले के सोच्थ्यो ?

****झुप्री दुई हप्ताअघि फेरि काठमाडौं आएकी छिन् । अहिले उनलाई भेट्ने र कुरा गर्नेहरुको लर्को छ ।

तर प्रतिस्पर्धीहरुका आफन्तहरु भेट्न आउँदा उनको मन खिन्न हुन्छ । दुई हप्ता अगाडि मोबाइल समाएकी झुप्रीले निराशा पोख्छिन्, ‘सबैका आफन्तहरु भेट्न आउँछन् । माया गर्ने भएको भए त मेरा आफन्तले पनि फोन गर्थे होलान् नि !’झुप्री जति बोल्छिन्, निराशा बोल्छिन् । र, भोलिको दिन पनि अध्यारो देख्छिन् –आफ्नै आँखा जस्तो । तर अहिले उनको जीवनमा जे जे भइरहेको छ, उनले नसोचेको भइरहेको छ । त्यसैले उनले नसोचेरै बोल्छिन्, ‘बाँच्ने मन त कहाँ छ र !’

केही गरेर देखाउँछु भन्ने आँट त पलाइसकेको छैन । तर, उनको मन कलिकति बद्लिएको छ । झुप्रीको बद्लिएको मन बोल्छ, ‘मलाइ घर फर्कनै मन छैन । त्यस्ता गाउँलेको नजिक जानुभन्दा यतै केही काम गरेर बस्न पाए हुन्थ्यो । उनीहरुसँग हात थापेर खान नपरोस् भन्छु । तर देखेको पाइँदैन, लेखेको हुनुपर्छ ।’
Source: onlinekhabar.com

प्रतिक्रिया दिनुहोस्