| मङ्लबार, कार्तिक ५, २०७६

गोरखाको मञ्चमा शनिबार शान्तिश्रीले गाइन् बोलमाया र गलबन्दी (फोटो फिचरसहित)

अनुपमा खनाल

रेडियो, टेलिभिजन, युटुब, पेनड्राइभमा शान्तिश्री परियारको स्वर सुनेर मुग्ध भएका गोरखाली स्रोतहरुले शनिबार प्रत्यक्ष उनको स्वर सुनेर र हेरेर प्यास मेटाए । बोलमाया र गलबन्दी जस्ता चर्चित गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएकी शान्तिश्रीलाई लियो क्लवले गोरखा ल्याएका थियो ।

अनाथ बालबालिकाको सहयोगार्थ गोरखाको रानीपोखरीमा आयोजित कार्यक्रममा सहभागी हुन उनी शनिबार गोरखा आएकी थिइन् ।
उनको पहिलो प्रस्तुति बोलमाया थियो । भावुक मुद्रामा गाएको उनकोे गीतले दर्शकहरु स्तब्ध भए । बोलमाया जस्तो भावुक गीतमा पनि कतिपय सहभागी नाचेका थिए ।

बोलमायामा पर्याप्त भावुक भएका दर्शकहरु गलबन्दी गीतमा छमछमी नाचेर रानीपोखरी क्षेत्रलाई मनोरञ्जनपूर्ण बनाए । त्यो लगायत उनले सालघारीमा सिसौ, मरिलानु केछर, चनमती र फुलमती, हाम्रो मायामा राजनीति भो जस्ता गीत सुनाएर ४० मिनेट दर्शकलाई मनोरञ्जन गराइन् ।


कार्यक्रममा लोक तथा दोहोरी गायक दिपसागर थापा मगर र हरिराम परियारले पनि विभिन्न गीत सुनाएका थिए ।
कार्यक्रमबाट बचेको रकमले जिल्लामा रहेका अनाथ, असाहाय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने क्लबका पुर्व अध्यक्ष यम बसेलले जानकारी दिए ।

अघिल्लो बर्ष गाइजात्रा साँझ आयोजना गरेर बचत भएको करिब एक लाख रुपैयाँले बिभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको क्लबले यस बर्ष समेत कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाई छ ।

कार्यक्रममा कालीका सांस्कृतिक कला केन्द्रका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । लियो क्लब अफ गोरखाका अध्यक्ष बिदुर बल्लभ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद चुडामणि खड्काले रत्नराज्य मावि विरेन्चोकमा अध्ययनरत दुई जना अनाथ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहयोगी संघसंस्था तथा ब्यक्तिलाई सम्मान गरिएको लियो क्लब अफ गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्