
गोरखनाथ गुफामा सोह्रौं सवालाख रोट महोत्सव शुरु
अनुपमा खनाल
गोरखनाथ गुफामा शनिवारबाट १६ औं सवालाख रोट महोत्सव शुरु भएको छ । बैशाख पूर्णिमा अर्थात गोरखनाथ प्रकट दिवसको अवसर पारेर सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव शुरु गरेको हो । केन्द्रको बसपार्कस्थित कार्यालयबाट गोरखनाथ गुफासम्म रथयात्रा र कलश यात्रा गरेर धार्मिक विधि अनुसार रोट महोत्सव शुरु गरेको केन्द्रका संयोजक किशोर अकेलाको जानकारी दिए ।
चामलको पिठोमा चिनी सहित बिभिन्न ३२ प्रकारका मसला मिसाएर घिउमा खारेर पकाइने परिकार रोट हो । नेपाल एकिकरणका अभियन्ता पृथ्विनारायण शाहका समेत गुरु मानिने गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने बस्तु रोट भएकोले उनलाई खुशी पार्न महोत्सव गरिएको आयोजकले बताएको छ ।

भगवान शिवका आधुनिक अवतार समेत मानिने गोरखनाथलाई रोट चढाउने प्रचलन धेरै अघि देखि चल्दै आएपनि सिद्धाश्रम शक्तिकेन्द्रले २०६० सालयता हरेक वर्ष महोत्सव गर्दै आएको छ । अरुबेला भक्तजनले आफूखुशी केही संख्यामा रोट बनाउने भएपनि महोत्सवका सबै दिनमा गरेर एक लाख २५ हजार भन्दा बढी संख्यामा रोट चढाउने गरिन्छ । यसो गरे गोरखनाथ खुशी हुने र देशमा सुख शान्ति, समृद्धि प्राप्त हुने शिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक अकेलाको विश्वास छ । यसबाहेक यो महोत्सवले गोरखालाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरी संसारभर चिनाउनका लागि पनि मद्धत गर्ने उनले बताए ।
महोत्सवमा आउने भक्तजनका लागि निशुल्क रुपमा खाना र वासको ब्यवस्था गरिने केन्द्रले जनाएको छ । विशेष गरि आयोजक सिद्धाश्रम शक्तिकेन्द्रको विभिन्न ठाउँमा रहेका केन्द्रहरुबाट महोत्सव अवधीभर हजारौंको संख्यामा भक्तजनहरु गोरखा आउने छन् । विशुद्ध धार्मिक पर्व भएपनि रोट महोत्सवले गोरखाको आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पु¥याउँदै आएको सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । जेठ १४ गतेसम्म चल्ने महोत्सवमा भजनकिर्तन, विशेष पुजाआजा, आरती लगायतका धार्मीक कार्यक्रम हुनेछन् ।




