
आँबुखैरेनी स्रष्टा समाजद्धारा आँबुखैरेनी वाङ्मय र इन्द्रासन हास्यव्यङ्य पुरस्कार प्रदान
आँबुखैरेनी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्ने आबुँखैरेनी वाङ्मय पुरस्कार यो वर्ष यज्ञशको गैरआख्यान कृति ‘भुइयाँ’ लाई प्रदान गरेको छ । यज्ञशको ‘भुइयाँ’ लाई २०७४ सालको साहित्यतर्फको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य कलाकार उत्तम केसीलाई हास्यव्यङ्ग्यतर्फको ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गरिएको हो ।

दुवै पुरस्कारको राशी जनही दश हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । यस्तै २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएकोे छ । पुरस्कृत स्रष्टा यज्ञशको २०७४ मा फाइनप्रिन्टबाट प्रकाशित ‘भुइयाँ’ ले २०१८ को दुई लाख राशीको पहिचान पुरस्कार पाएको थियो भने ‘भुइयाँ’ मदन पुरस्कारको लागि अन्तिम मनोनयनमा परेको थियो ।
चर्चित भारतीय साहित्यकार उदय प्रकाशको लघु उपन्यास ‘मोहनदास’ (२०६६) र कथा संग्रह ‘नेलकटर’ (२०७३) यज्ञशद्वारा अनुदित छन् ।
चिजकुमार श्रेष्ठको ’घुमीफिरी बन्दिपुर’ पुस्तक सम्पादन र फिटकिरी चलचित्रको पटकथा लेखन गरेका यज्ञश चलचित्र समीक्षक नेपाल (फिक्सन)को अध्यक्ष पनि हुन् । यज्ञश १७ वर्षदेखि पत्रकारितामा आबद्ध छन् । इन्द्रासन पुरस्कारबाट पुरस्कृत हास्यकलाकार उत्तम केसीले २०३८ सालदेखि रंगमञ्च क्षेत्रमा प्रवेश ३ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका केसी निरन्तर हास्यकलाकारको भूमिकामा अभिनय गर्दै आएका छन् ।

रेडियो नेपालबाट प्रसारण हुने रेडियो रसरङ्ग कार्यक्रमको निर्देशन गरेका केसी २०४४ सालदेखि चलचित्र क्षेत्रमा प्रवेश गरी २५० भन्दा बढी चलचित्रमा हास्य अभिनेताको रुपमा अभिनय गरेका छन् । उत्कृष्ट निर्देशक रेडियो नाटक २०४९ युनेस्को कला पुरस्कार २०५६ नेशनल भिजन विजी एवार्ड २०५३ लगायत थुप्रै फिल्मी अवार्डहरु प्राप्त गरेका केसी चलचित्र कलाकार सङ्घमा आबद्ध छन् । समाजको बैशाख एक गते बसेको बैठकको निर्णय अनुसार शनिवार पुरस्कार प्रदान गरिएको हो ।




