
गोरखा जेसिज, मल्टिट्यालेण्ट ग्रुप र पस्लाङ नाम्रुङको होली विशेष मेला सम्पन्न
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार गोरखामा हर्षोल्लासका साथ मनाइँएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाईए को छ । शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा गोरखामा पनि हर्षेल्लासका साथ होली मनाईएको हो । बुधबार विहानैदेखि बालबालिका, युवायुवती तथा वयस्कहरु आ आफ्नो समुहमा एक आपसमा रंग दलेर शुभकामना आदानप्रदान गर्दै हिडेका थिए । होलीकै अबसरमा विभिन्न ठाउँमा छलफल, अन्तरक्रिया,वनभोज तथा सांगीतिक कार्यक्रम पनि भएको थियो ।
गोरखा मल्टिट्यालेन्ट ग्रुपको आयोजनामा सदरमुकामको रानी पोखरी परिसरमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अपूर्व क्षितिज सिं र क्षितिज केसीको हास्यब्यंग्य कार्यक्रम, गोरखा मल्टिट्यालेन्ट ग्रुपको लाइभ म्युजिक कन्सर्टमा युवायुवती रमाएका थिए । कार्यक्रममा नेवारी समुदायको धिमे बाजाका साथमा मिस गोरखाको प्रस्तुती पनि थियो । ग्रन्च ब्याण्ड, डिजे मास्कका साथमा विविध सांस्कृतिका कार्यक्रम भएको ग्रुपका राज श्रेष्ठले जानकारी दिए । दिनभर चलेको कार्यक्रममा सहभागी युवायुवतीहरु रंग खेल्दै नाचगानमा ब्यस्त भएका थिए । ग्रुपले चार बर्षयता बर्षेनी होलीको अबसरमा सांगीतिक कार्यक्रम गर्दै आएको छ ।
होलीकै अबसरमा गोरखा जेसिज गोरखाले पनि विशेष कार्यक्रम गरेको छ । पुरानो बसपार्कस्थित जेसिज प्रतिक्षालयमा आयोजित कार्यक्रममा सहभागीहरुले एक आपसमा रंग दलेर शुभकामना आदानप्रदान गरेका गोरखा जेसिज का अध्यक्ष राजिव अधिकारीले बताए ।
गोरखा नगरपालिका ५ पश्लाङमा नाम्रुङमाईको मन्दिरमा होलीकै अबसरमा दोस्रो नाम्रुङमाई मेला तथा होली उत्सव भएको छ । आन्तरीक तथा बाह्य पर्यटक प्रबद्र्धनका लागि भएको कार्यक्रममा युवायुवती तथा स्थानिय समुदायको सहभागीतामा होलि उत्सव मनाईएको शारदाप्रसाद भट्टराईले बताए ।




