
फागुन ३ गतेदेखि पहिलो पालुङ्टार लिगलिग महोत्सव
दरौंदी समाचारदाता :
गोरखाको पालुङ्टार नगरपालिकामा पहिलो पटक पालुङ्टार लिगलिग महोत्सव हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघ, पालुङ्टार बजार इकाइले पालुङटारको ठाँटीपोखरी बजारमा फागुन ३ गतेदेखि फागुन १२ गतेसम्म १० दिने महोत्सवको आयोजना गरेको हो ।
पालुङटार नगरपालिका कार्यालय, गोरखा उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड पोखरा, आदिवासी जनजाति महासंघ नगर परिषद पालुङटारको सहयोगमा महोत्सव गर्न लागिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा इकाइका अध्यक्ष आशिष देवकोटाले जानकारी दिए । गोरखा, तनहूँ, लम्जुङ र मनाङका करिब ४० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सव आयोजना गर्न करिब ३० लाख रुपैया खर्च हुने र बचेको पैसाले नगरपालिकामा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने लक्ष्य आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । महोत्सवमा एकसय देखि एकसय २० वटासम्म स्टल रहने छन् । स्टलमा च्याङ्लीटारको मास, धुवाँकोटका केरा, अदुवा जस्ता स्थानीय उत्पादन तथा अन्य उपभोग्य सामान रहने छन् ।
त्यस्तै बिभिन्न सांगीतिक तथा मनोरञ्जनका कार्यक्रमका अलवा वडा स्तरीय डोरीतानी प्रतियोगिता, प्याराग्लाइडिङ उठान हुने इकाइका अध्यक्ष देवकोटाले जानकारी दिए ।
महोत्सवस्थल प्रवेश गर्न विद्यार्थीका लागि ३० र अन्यले ५० रुपियाँ तिर्नुपर्ने व्यबस्था छ । ७० बर्ष कटेका वृद्धवृद्धालाई भने निशुल्क प्रवेश गराउने देवकोटाले बताए ।




