
सांसद दवाडीद्वारा मण्डली मावि र चाँदनी महिला समूहलाई आर्थिक सहयोग
सिरानचोक गाउँपालिका ५ छोप्राकस्थित मण्डली माविको ५५ औं बार्षिकउत्सवको उद्घाटन समारोह सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा उद्घाटन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडी, सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ, आठवटै वडाका अध्यक्ष, स्थानीय समाजसेवा सीपी पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सोही समारोहमा विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशालाको पनि उद्घाटन गरिएको छ । सांसद दवाडीले सो प्रयोगशालाको उद्घाटन गरेका हुन् । साथै सो विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि सांसद दवाडीले ५५ हजार पाँचसय ५५ रुपियाँ प्रदान गरेका छन् । समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेललाई अक्षयकोषको रकम हस्तान्तरण गरेका हुन् । अक्षयकोषको संरक्षकमा स्थानीय माधव पोख्रेल र ब्यबस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पोख्रेल, प्रधानाध्यापक रुद्रनाथ पोख्रेल र रमादेवी पोख्रेल रहेका छन् ।
विद्यालयको कार्यक्रममा सहभागी हुन छोप्राक पुगेका सांसद दवाडीले स्थानीय चाँदनी आमा समूहलाई ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन् । महिला समूहको भवन निर्माणका लागि महिला समूहकी अध्यक्ष सुशीला भट्टलाई सो रकम हस्तान्तरण गरेका सीपी पोखरेलले जानकारी दिए ।
बार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, खेलकुद प्रतियोगिता तथा सास्ंकृतिक कार्यक्रम पनि गरेका छन् । सोही अबसरमा भएको गााउँपालिकास्तरीय अन्तर मावि हाजिरजवाफ प्रतियोगितामा महेन्द्र संसारी मावि गाँखु पहिलो, मण्डली मावि दोस्रो र महेन्द्र लीला मावि हर्मी तेस्रो भएका स्थानिय आशीष पोख्रेलले जानकारी दिए । समारोहको बुधबार भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले समापन गर्ने कार्यक्रम रहेको छ ।




