| शनिबार, साउन १५, २०८३

यम घलेको गुरुभक्ति

गुरु केवल अक्षर चिनाउने व्यक्ति मात्र होइनन्, उनीहरू जीवनको अन्धकारलाई चिरेर मार्गदर्शन गर्ने वास्तविक शिल्पकार हुन् । गुरु पूर्णिमाको अबसर पारेर बुधबार बारपाक घर भई हाल अमेरिकामा रहनुभएका यम घलेले, आफूलाई ’कखरा’ सिकाउने गुरुहरूलाई दोसल्ला र नगदसहित गरेको सम्मानले समाजलाई एउटा सकारात्मक र गहिरो सन्देश दिएको छ ।

भूगोलको दूरी जतिसुकै टाढा भए पनि, जीवनको उचाइ जतिसुकै प्राप्त गरे पनि आफूलाई जग बसाल्ने गुरु र जन्मभूमिलाई भुल्नु हुँदैन भन्ने यो ज्वलन्त उदाहरण हो । घलेले देखाएको यो सदाशयताले विश्वभर छरिएका प्रवासी नेपालीहरूका लागि एउटा उदाहरणीय मार्गचित्र कोरेको छ । भौतिक रूपमा टाढा भए पनि मन र मस्तिष्कमा आफ्ना गुरुहरूप्रति आदरभाव राख्नुले असल नागरिकको पहिचान झल्काउँछ ।

धन कमाउनु मात्र ठूलो कुरा होइन, आफूलाई योग्य बनाउने माटो र गुरुको कदर गर्नु वास्तविक धन हो । आजको आधुनिक र भौतिकवादी युगमा मानिसहरू अक्सर सफलताको शिखरमा पुगेपछि आफ्नो विगत र आफूलाई डो¥याउने गुरुहरूलाई बिर्सने गर्छन् । तर घलेको यो सत्कर्मले हाम्रो पूर्वीय सभ्यता र “आचार्य देवो भव“ को प्राचीन संस्कारलाई पुनर्जीवित गराएको छ ।

प्रविधिको सही सदुपयोग गर्दै सात समुद्र पारिबाट भिडियो कलमार्फत गुरुहरूको आशीर्वाद लिनु आफैँमा एउटा विशिष्ट कार्य हो । एउटा व्यक्तिको जीवनलाई असल, अब्बल र जिम्मेवार बनाउन विद्यालय र शिक्षकको भूमिका अतुलनीय हुन्छ । समाज रूपान्तरणको मुख्य मेरुदण्ड नै शिक्षक हुन् । तसर्थ, राज्य र समाजले शिक्षकको सम्मान र गरिमालाई सधैँ उच्च राख्नुपर्छ । यम घलेले देखाएको यो आदरभावबाट प्रेरणा लिँदै हामी सबै पाठक वर्गले आफ्ना गुरुहरूप्रति सम्मान प्रकट गर्ने र उनीहरूको योगदानलाई कदर गर्ने संस्कारको विकास गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्