| सोमवार, असार २१, २०८३

फ्रान्सको मार्से विश्वविद्यालयका विद्यार्थीहरुले गरे गोरखामा स्वास्थ्य शिविर, दन्त केन्द्र स्थापना, फोहोरमैला व्यवस्थापन

फ्रान्सको मार्से विश्वविद्यालयका विद्यार्थीहरुले गोरखाको विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन, दन्त केन्द्र स्थापना र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय काम गरेको छ । विश्वविद्यालयका करिब १२ सय विद्यार्थीहरुले उनीहरुकै देशमा खाना तथा खाजा बेचेर कमाएको रकमले गोरखाको स्वास्थ्य क्षेत्रमा काम गरेका हुन् ।

उनीहरुले मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्सको सहयोग तथा समन्वयमा उक्त कार्यक्रमहरु संचालन गर्दै आएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । मार्से विश्वविद्यालयका विद्यार्थीहरुले विश्वविद्यालयमा खाजा बेचेर आम्दानी गरेको पैसाले जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गरेको उनले जानकारी दिए ।

उनीहरुले हालसालै मनकामनामा दुईदिने स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । मनकामना आधारभुत स्वास्थ्य केन्द्रमा यही शुक्रबार र शनिबार भएको शिविरमा सहिदलखन गाउँपालिका वडा नं २ र ३ का पाँचसय बढीले सेवा लिएका थिए ।
मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्सको आयोजना एवं ग्रिन सिटी हस्पिटल तथा ग्रिन सिटी मेगा हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा मनकामनाका पाँचसय ५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

शिविरमा मुटुरोग, स्त्रीरोग तथा जनरल स्वास्थ्य परीक्षण सेवा दिएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले भने । शिविरमा १५३ जनाले मुटुको इको, १९३ जनाले इसिजी र १७१ जनाले युएसजी (अल्ट्रासाउन्ड) सेवा लिएको उनले जानकारी दिए । यस्तै, १७७ जनाले भिआईए स्क्रिनिङ्ग सेवा, २०४ जनाले स्त्रीरोग सेवा तथा ४५५ जनाले जनरल स्वास्थ्य परीक्षण गराएको गुरुङको भनाई छ ।

यस्तै, फाउन्डेसनले सिरानचोक गाउँपालिका २, थालाजुङस्थित स्वास्थ्य चौकीमा दन्त उपचार कन्द्र स्थापना गरेको छ । केन्द्रको औपचारिक उद्घाटन सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले गरेका थिए । दन्त उपचार केन्द्रका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु मुटु फाउन्डेसनले उपलब्ध गराएको छ । गाउँपालिकाले भने केन्द्रमा दन्त सहायक नियुक्त गरेको उल्लेख छ । साथै, त्यहाँ दन्त शिविर पनि संचालन गरेको आयोजक धनबहादुर गुरुङ बताउँछन् ।

ओम समाज डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा यही असार १४ र १५ गते संचालित शिविरमा २९५ जनाले सेवा लिएका थिए । मुटु फाउन्डेसनले अजिरकोट गाउँपालिकामा ‘ठोस फोहोरमैला तथा स्वास्थ्य जोखिम व्यवस्थापनमा भूमिका र नेतृत्व’ सम्बन्धी कार्यशाला गोष्ठी पनि आयोजना गरेको थियो । यही असार १६ र १७ गते आयोजना भएको उक्त गोष्ठीमा ८१ जनाले सहभागिता जनाएका थिए ।

पालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, क्लव तथा आमा समूहहरु एवं सामाजिक व्यक्तित्वहरुले कार्यक्रममा सहभागिता जनाएको फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले जनाएका छन् । कार्यक्रममा ठोस फोहोर मैला व्यवस्थापन के, किन र कसरी गर्ने लगायतको विषयमा चर्चा भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्