
के आइतबार विद्यालय खोल्नु ठिक हो ?
नेपाल सरकारले इन्धन खपत घटाउने र उत्पादकत्व बढाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। तर, यो निर्णयको केन्द्र र स्थानीय तहबीचको बुझाइमा एकरूपता देखिन सकेको छैन। यसै सन्दर्भमा गोरखा नगरपालिकाले संघीय सरकारको निर्णयविपरीत आइतबार पनि सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्ने जुन निर्णय गरेको छ, यसले शिक्षा क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ।
गोरखा नगरपालिकाको तर्क छ आइतबार विद्यालय बन्द गर्दा पाठ्यक्रम ले निर्धारण गरेको पाठ्यभार पूरा हुँदैन। विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिहरूबीच भएको छलफलपछि निकालिएको यो निष्कर्षले केही व्यावहारिक प्रश्नहरू उठाएको छ। नगर शिक्षा समितिले अघि सारेका तीन विकल्पहरूमध्ये बिहान ९ देखि ५ बजेसम्म विद्यालय सञ्चालन गर्दा बालबालिकाको मनोविज्ञान र स्वास्थ्यका दृष्टिले तथा महिला शिक्षकहरुलाई निकै चुनौतीपूर्ण हुन्थ्यो। अर्कोतर्फ, संघीय निर्णयलाई हुबहु पालना गर्दा शैक्षिक सत्रको अन्त्यमा पाठ्यक्रम नसकिने डर देखियो।
यस्तो अवस्थामा आइतबार विद्यालय खोल्ने निर्णयलाई शैक्षिक उपलब्धि जोगाउने एउटा प्रयासका रूपमा हेर्न सकिन्छ। तर, यहाँ विचारणीय पक्ष के छ भने शिक्षा केवल कक्षाकोठाको पठनपाठन मात्र होइन। दुई दिने विदाको अवधारणा बालबालिकालाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउने, परिवारसँग समय बिताउने र मानसिक थकान मेटाउने अवसर पनि हो। संघीय सरकारले तय गरेको क्यालेन्डरलाई स्थानीय तहले आफूखुसी परिमार्जन गर्दा यसले अन्य जिल्ला र नगरहरूमा पनि एक किसिमको अन्योल र अराजकता निम्त्याउने जोखिम रहन्छ।
के एउटा नगरपालिकाको शैक्षिक क्यालेन्डर छिमेकी पालिकासँग मेल नखानुले राष्ट्रि य शिक्षा प्रणालीको मर्ममा प्रहार गर्दैन? यद्यपि, नेपालको संविधानले स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्रदान गरेको छ। यस दृष्टिले गोरखा नगरपालिकाले आफ्नो भौगोलिक र शैक्षिक आवश्यकता अनुसार निर्णय लिनुलाई स्थानीय स्वायत्तताको अभ्यास मान्न सकिन्छ। यदि आइतबार विदा दिँदा साच्चै नै पाठ्यभार पुग्दैन भने, त्यसलाई पूर्ति गर्न गरिने वैकल्पिक प्रयासहरू सकारात्मक हुन्। तर, यसो गर्दा शिक्षक र विद्यार्थीमा पर्न सक्ने कार्यबोझ र संघीय नियमको वैधतालाई पनि ध्यानमा राख्न जरुरी छ ।




