| शुक्रबार, अशोज ८, २०८३

धार्चेको इच्छा आविले मनायो स्वर्ण जयन्ती

धार्चे गाउँपालिका–१ हुल्चुकको इच्छा आधारभूत विद्यालयले भव्यताका साथ स्वर्ण जयन्ती मनाएको छ । विद्यालयले यही माघ २८ गतेबाट फागुन ३ गतेसम्म विविध कार्यक्रम गरेर स्वर्णजयन्ती कार्यक्रम मनाएको हो ।

‘शिक्षा हाम्रो प्रेरणा, संस्कार हाम्रो सान, ५० वर्षको हाम्रो गौरव, उज्यालो हाम्रो अभियान’ भन्ने मुल नारा सहित स्वर्ण जयन्ती मनाएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दिलिप गुरुङले बताए । वडा–स्तरीय शिक्षक मैत्री भलिबल प्रतियोगिता तथा विविध शैक्षिक, सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरू गरेर स्वर्ण जयन्ती मनाएको उनले जानकारी दिए ।

स्वर्ण जयन्तीको अवसरमा आयोजित लोक नृत्य प्रतियोगितामा धार्चे–५ गुम्दाको सुर्योदय मावि प्रथम भएको छ । यस्तै, शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियोगितामा धार्चे गाउँपालिका–२ केरौँजा प्रथम भएको विद्यालयले जनाएको छ । कार्यक्रममा मेमोरी टेस्ट प्रतियोगितामा धार्चे–३ उहियाको पार्वती आवि विजयी भएको छ भने हाजिरी जवाफ प्रतियोगितामा र निबन्ध लेखनमा चुमनुब्री–३ फिलिमको बुद्ध मावि प्रथम भएको आयोजक इच्छा आधारभूत विद्यालयलले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप गुरुङको अध्यक्षता एवं धार्चे गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ, धार्चे गाउँपालिका वडा नं १ का वडाअध्यक्ष रामसिंह गुरुङ लगायत विद्यालयका संस्थापक प्रध्यानध्यापक, सहयोगी संघ संगठनहरु, विद्यार्थी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्