
द्रव्यशाह बहुमुखी क्याम्पसको ‘सिक्यौँ–सिकायौँ’ अभियान
द्रव्यशाह बहुमुखी क्याम्पसले ‘सिक्यौं–सिकायौं’ अभियान अन्तर्गत गण्डकी प्रदेशका क्यूएए मान्यता प्राप्त क्याम्पसहरुको अवलोकन भ्रमण तथा अनुभव आदान प्रदान गरेको छ । गत आइतबारदेखि मंगलबारसम्म कालिका बहुमुखी क्याम्पस (पोखरा), गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस (पोखरा), वालिङ बहुमुखी क्याम्पस (स्याङ्जा) र आदिकवि भानुभक्त क्याम्पस (तनहुँ)मा अवलोकन भ्रमण तथा अनुभव आदान प्रदान गरेको क्याम्पस प्रमुख एकदेव अधिकारीले जानकारी दिए ।
‘हामीजस्ता क्यूएए मान्यता प्राप्त क्याम्पसहरुसंग शैक्षिक, भौतिक, प्रशासनिक तथा गुणस्तर सुनिश्चिततासम्बन्धी विषयमा छलफल र अभ्यास–साझेदारी गरियो’, क्याम्पस प्रमुख एकदेव अधिकारीले भने, ‘भ्रमणका क्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पससँग नयाँ सम्झौता–पत्रमा हस्ताक्षर गरिएको छ । आदिकवि भानुभक्त क्याम्पससँग यसअघि नै सम्झौता सम्पन्न भइसकेको थियो ।’ यी सम्झौताअनुसार शैक्षिक सहकार्य, अनुसन्धान, क्षमता विकास र गुणस्तर सुधारका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आपसी प्रतिबद्धता व्यक्त गरिएको छ ।
छलफलमा विद्यार्थी–शिक्षक–कर्मचारीमैत्री वातावरण, निरन्तर मूल्याङ्कन, सहभागीमूलक पठन–पाठनको प्रयोग, अनुसन्धान संस्कृति, पूर्वविद्यार्थी सहभागिता र रोजगारमुखी शिक्षाजस्ता समसामयिक विषयहरूमा अनुभव साझेदारी गरिएको क्याम्पसले जनाएको छ ।




