| बिहिबार, असार १०, २०८३

१८ औँ पुस्तकालय गोरखा क्याम्पसमा मनाइयो

१८ औँ पुस्तकालय दिवस गोरखा क्याम्पसमा विविध कार्यक्रम गरी मनाइएको छ । पुस्तकालय विकास तथा व्यवस्थापन समिति गोरखा क्याम्पस गोरखाको आयोजनामा आइतवार विविध कार्यक्रम गरी सो दिवस मनाएको हो ।

‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ पुस्तक हस्तान्तरण, वृक्षारोपण, एवं सरसफाइ कार्यक्रम गरेर दिवस मनाएको क्याम्पसको पुस्तकालय विकास तथा व्यवस्थापन समितिकी सदस्य सचिव एवं पुस्तकालय शाखा प्रमुख सुशीला थापाले बताइन् । दिवसको अवसरमा क्याम्पसका पूर्व शिक्षक राजिव पन्तले दश हजार रुपैँया बराबरको विभिन्न विषयका १६ थान पुस्तक क्याम्पसलाई उपलब्ध गराएको उनले जानकारी दिइन् ।

यस्तै, स्थानीय अभिभावक सिताराम थपलियाले क्याम्पसलाई रक्त चन्दनको विरुवा प्रदान गरेको उनले बताएकी छिन् । कार्यक्रममा शिक्षक कर्मचारी र विद्यार्थीको सहभागितामा क्याम्पस हाताभित्र वृक्षारोपण गर्नुका साथै सरसफाइ पनि गरिएको उनको भनाइ छ ।

पुस्तकालय विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं सहायक क्याम्पस प्रमुख बासु बाबु खत्रीको अध्यक्षता एवं क्याम्पस प्रमुख नवराज पाण्डेको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा पुस्तकालय विकास तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं पुस्तकालय शाखा प्रमुख सुशिला थापा, पुस्तकालय सहायक रेनु श्रेष्ठ, त्रि .वि प्राध्यापक संघका सभापति रमेश अधिकारी, स्ववियु सभापति सुलभ अंगाई लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्