
पुस्तकालय दिवसको अवसरमा ‘सबैथोक छोडौ, पुस्तक पढौँ’ कार्यक्रम
‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ भन्ने नारासहित गोरखाका विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी १८ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । दिवसका अवसरमा विभिन्न विद्यालयहरुमा आइतबार बिहान सवा १० बजेदेखि १० मिनेट ‘सबै थोक छोडौ, पुस्तक पढौं’ कार्यक्रम सञ्चालन गरिएको थियो ।
रुम टु रिड र एकिकरण नेपालको साझेदारीमा साक्षरता कार्यक्रम सञ्चालित १४५ विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थी र दुईहजार भन्दा धेरै शिक्षकहरु सो कार्यक्रममा सहभागी थिए ।विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा पठन सँस्कृतिको विकास गर्न ‘सबै थोक छोडौ, पुस्तक पढौँ’ अभियान सञ्चालन गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
पुस्तकालय दिवसका अवसरमा पढाइ दौड प्रतियोगिता, पठन प्रवाह प्रतियोगिता, कथा वाचन प्रतियोगिता, पठन सँस्कृति प्रवर्धन गर्ने गीत तथा कविता प्रतियोगिता, स्मरण खेल लगायतका विविध कार्यक्रमहरु पनि सञ्चालन गरिएको थियो । पठन सँस्कृतिको प्रवर्धनका लागि रुम टु रिड र एकिकरण नेपालले विगत तीनबर्षदेखि जिल्लामा विभिन्न कार्यक्रम गरी पुस्तकालय दिवस मनाइ रहेको जानकारी समेत कार्यकारी निर्देशक देवकोटाले दिनुभयो ।




