
विद्यालय मर्जरबाट उत्पन्न समस्याको व्यवस्थापन गर
राष्ट्र निर्माता पृथ्वीनारायण शाहले जीवनकालको अन्त्यमा देशबासीका नाममा सन्देश दिँदै भनेका थिए, ‘मेरा साना दुखले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया’ । नेपाल एकीकरण अभियानको क्रममा पाएको आफ्नो दुखबारे संवेदनशील हुन र यो उपलब्धीको रक्षा गर्न देशबासीको ध्यान खिच्न उनले यसो भनेका थिए ।
जब देशमा बहुदलीय प्रजातन्त्र पुनर्बहाली भयो, तब शिक्षा, स्वास्थ्य, सूचना सञ्चार आदि क्षेत्रमा ठूलो परिवर्तन भयो । विद्यालय, स्वास्थ्य संस्था खुल्ने क्रम तीब्र रुपमा बढ्यो । टोलटोलमा विद्यालय खुले । आधारभूत शिक्षा लिन टाढा जानु नपर्ने भयो । माध्यमिक तहको शिक्षा लिन पनि अब आधाघण्टा हिडेर पुगिने ठाउँमा हाइस्कूल खुल्न थाले ।
कक्षा ११, १२ पनि नजिक, नजिकै खुले । जिल्लामा दुईवटा मात्र क्याम्पस रहेकामा प्रत्येक निर्वाचन क्षेत्रमा एक वा दुईवटाका दरले क्याम्पस पनि खुले । यसले शिक्षाको विकासमा कायापलट भयो । तर बिगत एक दशक यता गाउँबाट बसाइँ सराइको दर बढ्न थाल्यो । युवाहरु रोजगार तथा पढ्नका लागि भनेर विदेशिन थाले, तब गाउँ रित्तिन थाल्यो । गाउँका दुईतले, तीनतले घरहरु सबैभन्दा पहिले रित्तिए । त्यसपछि क्रमशः मध्यमबर्गीयहरु गाउँ छाडेर सहर पसे । सहर छाडेर राजधानी पसे । राजधानी पनि छाडेर विदेश पसे । यसले गर्दा गाउँ खण्डहर बन्न थाले ।
जनसंख्या घटेपछि स्वतः बालबालिकाको संख्या घट्न थाल्यो । अनि ५० को दसकमा धमाधम खुलेका विद्यालय ७० को दशकपछि धमाधम विद्यार्थीविहिन बन्दै गए । यो अबस्थामा विद्यालयको पूर्वाधार निर्माण, शिक्षक, कर्मचारी खर्च तथा विभिन्न शीर्षकमा फजुल खर्च नहोओस् भन्ने हेतुले विद्यालयहरु नजिकको अर्को विद्यालयमा गाभ्ने नीति आउन थाल्यो । अहिले बर्षेनी प्रत्येक पालिकामा विद्यालय मर्जर अभियान चलिरहेको छ ।
गाउँको विद्यालय मासिएपछि अभिभावक आक्रोशित हुनु स्वभाविकै हो । राज्यस्रोतको दोहन हुनबाट पनि जोगाउनु पर्नेछ, अभिभावकको चित्त पनि बुझाउनु पर्नेछ । यो अबस्थामा स्थानीय सरकारले सुझबुझका साथ द्वन्द्व व्यवस्थापन गर्नु आवश्यक छ ।




