| सोमवार, अशोज ११, २०८३

ध्रुबज्योति आधारभूत विद्यालयका १०९ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

भिमसेन थापा गाउँपालिका झिँगटे स्थित ध्रुबज्योति आधारभुत विद्यालयमा अध्यायनरत १०९ जना विद्यार्थीलाई शौक्षिक सामग्री वितरण गरिएको छ । गोरखा घर भई वेलायत तथा अमेरिकामा रहेका युवाहरुले विद्यालयलाई १ लाख ३१ हजार रुपैँया बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन् । विद्यालयको अनुरोध र गाउँपालिकाकी उपप्रमुख अमृतादेवी वस्तीको समन्वयमा अमेरिकामा अध्ययरत सतिस वस्ती र उनका बेलायत बस्ने साथीहरु रविन श्रेष्ठ, रविना तामाङ्ग र पारस गुरुङबाट संकलित आर्थिक सहयोगमा उक्त शैक्षिक सामग्री सहयोग गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच गाँउपालिकाकी उपाध्यक्ष वस्तीले विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयको प्रधानाध्यापक जहिमा खातुनले विद्यालयमा गरिब, मुस्लिम तथा सिमान्तकृत बालबालिकाहरु धेरै भएकाले आवश्यकता अनुसारको शैक्षिक सामग्री सहयोग प्राप्त भएकोमा आभार व्यक्त गरेकी छिन् ।

उपाध्यक्ष वस्तीले गाउँपालिकाले शिक्षा क्षेत्रमा प्राथमिताका साथ काम गरिरहेकोमा यस विद्यालयमा विद्यार्थी संख्या र आवश्यकताको आधारमा प्राथमितामा राखेर काम गरेको बताइन् । सहयोगमा झोला, कापी, कलम, २ जना विद्यार्थीको लागि विद्यालय पोशाक उपलब्ध गराएको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले बताए । रकम संकलनको समन्वय गरेको सतिस वस्तीले यस कार्यक्रमको उपलब्धिको समिक्षा गरी भावी दिनमा पनि अन्य विद्यालयहरुमा काम गर्न सकिने अपेक्षा व्यक्त गरे ।

विव्यस अध्यक्ष मञ्जुर मियाँको अध्यक्षामा भएको उक्त कार्यक्रममा विद्यालयको शिक्षक, विद्यार्थीसहित अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्