
बुद्ध माविका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबासस्थित बुद्ध माविका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । किमोलुङ्ग फाउण्डेशन नेपालको आयोजनामा बुधबार एक समारोह गरी उक्त शैक्षिक सामग्री वितरण गरेको हो ।
गरिब, जेहेन्दार तथा आर्थिक अवस्था अति नै कमजोर भएका विद्यार्थीहरुलाई छनोट गरी उनीहरुको पठनपाठनमा सहज होस् भनेर शैक्षिक सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । वितरण गरिएको शैक्षिक सामग्रीमा कापी, कलम, क्यालकुलेटर, झोला, जुत्तासहित विद्यालय पोशाक पनि रहेको छ ।
विद्यार्थीहरुलाई छात्रावृत्ति स्वरुप उक्त सामग्री प्रदान गरिएको हो । शैक्षिक सामग्री प्राप्त गर्नेमा दुई जना छात्र र बाँकी ९ जना छात्रा रहेका छन् । चुमनुब्री गाउँपालिकाका शिक्षा शाखा प्रमुख वासुदेव ओलीको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक प्रकाश घिमिरेको विशेष आतिथ्यतामा कार्यक्रम गरिएको हो ।




