| सोमवार, अशोज ११, २०८३

मणिकामदेबीका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

धार्चे गाउँपालिका–४ लाप्राकस्थित माणिकामदेबी माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । फ्रान्सेली संस्था एल्जास नेपालको सहयोगमा हिमाली साइनो फाउण्डेशन काठमाडौंले माणिकाम देबी माविमा अध्यायरत बाल कक्षादेखि १२ कक्षा सम्मका सबै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

मंगलबार एक कार्यक्रम गरी फाउण्डेशनका अध्यक्ष धनप्रसाद गुरुङले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भई विद्यालय पोशाक खरिदमा समेत समस्य हुने विद्यार्थीहरुको सहजता हुने उद्देश्यले विद्यालय पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले बताए । सिजन अनुसारको पोशाक भएपछि विद्यार्थीलाई पढाईमा समेत रुची हुने उनले बताए ।

‘यहाँ त कति आर्थिक अवस्था कमजोर भएर पोशाक किन्न नसक्नेहरु पनि छन् नि त, पोशाक नभएर स्कुल आउन नपाउनेहरु वर्गलाई लक्षित गरेर पोशाक वितरण गरिएको हो,’ उनले भने, ‘तर, पोशाक चाँहि विद्यालयका सबै विद्यार्थीलाई दिएको छ । सिजनअनुसारको स्कुल ड्रेस भएपछि विद्यार्थीलाई पठनपाठनमा पनि थप उर्जा थपिन्छ ।’ अब पोशाक नभएर विद्यालय नआउने बाध्यता हट्ने उनको अपेक्ष छ ।

वडाध्यक्ष किसान गुरुको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धन प्रसाद गुरुङ, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक तथा फाउण्डेशनका पदाधिकारीहरुसहित करिब सात सय जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्