
बालमन्दिर माविका अनाथ बालबालिकाका लागी नगद र खाद्यान्न सहयोग
गोरखा नगरपालिका–६ छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिकाका लागी आर्थिक सहयोग गरिएको छ । गोरखा नगरपालिका–६ बसपार्क स्थायी घर भई हाल यूकेमा रहेकी रविना श्रेष्ठले एक लाख नगद सहयोग गरेकी हुन् ।
अनाथ बालबालिका व्यवस्थापनका लागि भन्दै उक्त रकम सहयोग गरेको उनका आफन्तजनले बताएका छन् । वुधवार एक कार्यक्रमकाबीच श्रेष्ठका परिवारले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्के र बिद्यालयका निमित्त प्रधानाध्यापक शिवकुमार थापालाई एक लाख रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
त्यस्तै लायन्स क्लब अफ काठमाडौं (सगुन) को तर्फबाट अनाथ बालबालिकालाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको छ । गोनपा–६ धारापानी निवासी बविता श्रेष्ठको संयोजनमा खाद्यान्न वितरण भएको हो ।




