| शनिबार, अशोज १६, २०८३

लायन्स क्लव अफ गोरखा दरौदीले मनायो साक्षरता दिवस, चित्रकला प्रतियोगितामा मेरिज पहिलो

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा लायन्स क्लव अफ गोरखा दरौँदीले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । दरौदी करिडोरका तीन पालिकाका गरी १ दर्जन विद्यालयका आधारभूत तहका विद्यार्थी सहभागी कार्यक्रममा सेन्ट मेरिज स्कूल पहिलो भएको छ ।

१० विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै सेन्ट मेरिजकी रितिका थापा पहिलो भएकी हुन् । ‘नेतृत्वको लागि उत्प्रेरणा’ विषयबस्तुमा आधारित भएर गरिएको चित्रकला प्रतियोगितामा तारा मावि छेवेटारकी मान्सी नेपाली दोस्रो भएकी छिन् भने सेन्ट जोसेफ माविका फिलेक्स थापा तृतीय भएका छन् ।

गोरखा नगरपालिकाका ६, पालुङ्टार नगरपालिकाका ३ र सिराञ्चोक गाउँपालिकाका २ का विद्यालय सहभागी रहेको प्रतियोगितामा व्राइट फ्यूचर एकेडेमी चोरकाटेका उकेस गुरुङले सान्त्वना स्थान हाँसिल गरेका लायन्स क्लव अफ गोरखा दरौँदीका निवर्तमान अध्यक्ष एवं चित्रकला प्रतियोगिताका संयोजक लायन रमेश विष्टले जानाकारी दिए ।

क्लवका अध्यक्ष लायन कमल नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तारा माविका प्रधानाध्यापक बाबुराम विकको प्रमुख आतिथ्यता रहेको थियो । विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको संयोजक विष्टले जानकारी दिए । हरेक वर्ष सेप्टेम्वर ८ तारिखका दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै आएको छ । विद्यार्थी उमेरदेखि नै नेतृत्व गुण चित्रकलाको माध्यमवाट सिकाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको विष्टले वताए ।

प्रतिक्रिया दिनुहोस्