
सरस्वती मावि आहालेमा वृक्षारोपण
गोरखा नगरपालिका ८ आहालेमा रहेको सरस्वती माध्यामिक विद्यालयमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिबसको अवसरमा अशोका, कल्की, कपुर र धुपीको एकसय वटा बिरुवा रोपिएको वन विज्ञान प्रशिक्षक कुशल श्रेष्ठले बताए ।
सिटिईभिटी अन्तरगत तीन वर्षे बन बिज्ञान डिप्लोमा तह पढ्ने विद्यार्थीहरुको अगुवाईमा भएको वृक्षारोपणको शुभारम्भ गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले गरेका थिए । विद्यालयको वातावरण हराभरा बनाउन वृक्षारोपण जरुरी भएको बताउँदै उनले विद्यालयको कामको प्रशंसा गरे ।
कार्यक्रममा सहायक बन अधिकृत बालकुमार नेपालीले वृक्षारोपण र संरक्षणका बारेमा जानकारी गराए । विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले तीनवर्षदेखि बन बिज्ञान बिषय सुरु गरेको तर अझै कोटा भन्दा ५० प्रतिशत विद्यार्थी कम रहेको बताए ।
‘कोठाको ५० प्रतिशत विद्यार्थी नहुँदा अनुदानमा समस्या भएको छ’ उनले भने ‘बन डिभिजन, नगरपालिका सँगको सहकार्यमा बन बिज्ञानलाई अझै प्रभावकारी रुपमा अघि बढाउने योजना छ ।’




