
लागु औषध नियन्त्रणमा आमाको भुमिका सिकाउँदै गोरखा प्रहरी
लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा जिल्ला प्रहरी कार्यालयले गोरखाले सचेतनामुलक कार्यक्रम गरेको छ ।
गोरखा नगरपालिका १० छेपेटारमा मंगलवार ‘स्वच्छ जिबन स्वच्छ बिचार, लागु औषध गरौँ बिहस्कार’ भन्ने नारा सहित उक्त कार्यक्रम भएको प्रहरी निरीक्षक सोमदास ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीलाई एसपी केदार खनालले लागु औषध नियन्त्रणमा आमाहरुको भुमिका विषयमा जानकारी दिएका थिए ।
आफ्ना छोराछोरीलाई कसरी लागु औषधको दुब्र्यसनीबाट टाढा राख्न र दुब्र्यसनीमा लागेकालाई कसरी छुटाउन सकिन्छ भन्ने बारेमा उनले प्रशिक्षण दिए । शान्त एवं सुरक्षित समाज निर्माणका लागि लागु औषध नियन्त्रण आवस्यक रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय गोरखाले लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तराष्ट्रिय दिबसको अवसरमा साताब्यापी कार्यक्रम गर्ने निर्णय गरे अनुसार प्रहरीले त्यहाँ प्रशिक्षण कार्यक्रम गरेको हो ।
‘सचेतनाका कार्यक्रम हामीले निरन्तर गरिरहेका छौँ’ एसपी खनालले भने ।
दिबसको अवसरमा असार १२ गते बिहान सदरमुकाममा प्रभातफेरी गरिँदैछ ।




