
गोरखाको चारवटा पालिकामा खटिने मतदान अधिकृतलाई तालिम
निर्वाचन कार्यालयले चारवटा पालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीलाई बिहिवारदेखि निर्वाचन संचालन तथा ब्यवस्थापनका बारेमा प्रशिक्षण दिन सुरु गरिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए ।
धार्चे, चुमनुब्री, पालुङ्टार, गण्डकी गाउँपालिकाका मतदान अधिकृत र सहायक अधिकृतलाई बिहिवार तालिम दिइएको हो । बाँकी पालिकामा खटिनेहरुलाई शुक्रवार र शनिवार प्रशिक्षण दिईनेछ ।
निर्वाचनमा खटिने कर्मचारीले कार्य स्थलमा पालना गर्नुपर्ने नियम, निर्वाचन सामग्री बुझेर लगेपछि गर्नुपर्ने ब्यवस्थापन, ढुवानी ब्यवस्थापन, मतदान प्रक्रिया बारे गराउनुपर्ने जानकारीको बारेमा सिकाइएको उनले बताए ।
मुख्य निर्वाचन अधिकृत दिनबन्धु बराल, प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्य, जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईराला, बिभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृतहरुले सहभागीलाई प्रशिक्षण दिएका थिए । तालिममा सिकेका सिप अनुसार सहभागीले निर्वाचन सहज रुपमा शान्तिपूर्ण ढंगले गराउन सक्ने अपेक्षा निर्वाचन कार्यालयको रहेको छ ।




