
भूकम्पमा टुहुरा बनेका बालबालिकालाई आफन्तजन छात्रवृत्ति
कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखरा नामक एक सामाजिक संस्थाले गोरखा भूकम्प २०७२ मा परी अभिभावक गुमाएका बालबालिकालाई आफन्तजन छात्रवृत्ति प्रदान गरेको छ । फाउन्डेशनले भूकम्पको केन्द्रविन्दू बारपाक र आसपासका विद्यालयमा पुगी ५५ जना विद्यार्थीहरुलाई आफन्तजन छात्रवृत्ति वितरण गरेको हो ।
बारपाक, सौरपानी, स्वाँरा, मुच्चोक, सिम्जुङ, लाप्राक र गुम्दाका भुकम्पमा टुहुरा बनेका बालबालिकालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको संस्थाले जनाएको छ ।
भूकम्पमा अभिभावक गुमाई त्यसबाट पढाइमा प्रत्यक्ष असर पर्नसक्ने एकसयजना विद्यार्थी छनोट गरी विद्यालयको संरक्षणमा कर्मफ्लाईटस्ले आफन्तजन छात्रवृत्ति परियोजना सञ्चालन गरेको छ ।
सो क्रममा बारपाक सुलिकोट गाउँपालिका वडा नं २, ३ र ४ अजिंरकोट गाउँपालिकाको ४ र ५ वडा अन्तर्गतका विद्यालय तथा धार्चे गापाको मणिकामदेवी मावि लाप्राक र सूर्योदय मावि गुम्दाका भुकम्पबाट अनाथ हुन पुगेका बालवालिकाको शिक्षा, दिक्षामा संस्थाले प्रति विद्यार्थी रु १० हजारको दरले छात्रवृत्ति प्रदान गदै आइरहेको छ ।
२०७२ सालदेखि शुरु भएको १० वर्षे यस आफन्तजन छात्रवृत्ति परियोजनाबाट भुकम्पका कारण सिर्जित त्रासदीपूर्ण परिस्थितिमा बुवा, आमा, आफन्त गुमाई घर तथा विद्यालय समेत भत्किएर अन्योल पूर्ण भविष्य भएका एकसय जना बालवालिकाको पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको परियोजनाका परिकल्पनाका तथा संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
छनौट भएका विद्यार्थीमध्य बिगत सात वर्षको अवधिमा ४३ जना विद्यार्थीहरुले कक्षा १२ सम्मको अध्ययन पूरा गरिरहेका छन् ।
बाँकी रहेका ५७ जना विद्यार्थीलाई यसबर्ष रु १० हजारको दरले शैक्षिक सामाग्री र नगद वितरण गरिएको कुँबरले जानकारी दिए ।
संस्थाले सौरपानी, सिम्जुङ र गोरखा बजार केन्द्र निर्माण गरी छात्रवृत्ति वितरण गरेको थियो ।
बारपाक सुलिकोट गाउँपालिकाको मान्द्रे, सौरपानी र स्वाँराका ३० जना विद्यार्थीहरुलाई सौरपानीको भुवाने ठूलो सिमल रुखको फेदमा छात्रवृत्ति वितरण गरिएको थियो । त्यस्तै अजिरकोट गाउँपालिकाको मुच्चोक, सिम्जुङ तथा बारपाक मान्द्रेका २३ जना विद्यार्थीहरुलाई जीवन ज्योति मावि बालुवा केन्द्रबाट वितरण गरिएको थियो ।
धार्चे गाउँपालिकाको मणिकामदेवीम मावि र सूर्योदय माविका ४ जना विद्यार्थीहरुलाई मणिकामदेवी माविका प्रअ धनबहादुर गुरुङलाई गोरखा बजारमा हस्तान्तरण गरिएको छ ।
प्रतिविद्यार्थी रु ५ हजार बरावरको शैक्षिक सामाग्री (झोला, विद्यालय पोशाक, स्विटर, नङकट तथा पेष्ट, कापी, साबुन, ज्यामिति बक्स, पेन्सिल र बलपेन) तथा नगद रु दुईहजार पाँचसयका दरले प्रदान गरिएको थियो । बाँकी दुईहजार पाँचसय रुपैयाँ विद्यालयको अर्धवार्षिक परिक्षाको नतिजा प्राप्त भएपछि प्रदान गरिने बताइएको छ ।
यसै बीच गोरखा नगरपालिका ६ स्थित बाल मन्दिर माविमा आवासीय रुपमा अध्ययन गर्ने २४ जना अनाथ बालवालिकाका लागि रु १४ हजार ७० बरावरको खाद्यान्न सामाग्री प्रदान गरिएको छ ।




