
राष्ट्रपतिबाट पदक पाउने पाङखोलाका चेपाङ
वन जङ्गल, पाखापखेरामा दुखजिलो गरिखाने चेपाङ समुदायसँग जोडिएका धेरै दुखका आहानहरु छन् । लेखापढा नभएका प्राय ज्यालामजदुरी गरेर छाक टार्दै आएका सीमान्तकृत चेपाङ समुदायको दिनचर्या निकै कष्टकर देखिने गरेको पनि हो ।
चेपाङहरु गरिब हुन्छन्, के खाउँ, के लाउँको समस्या हुन्छ । वनजंगल आसपास बसोबास गर्ने हुँदा कन्दमुलले कैयौं छाक टार्ने गर्छन्, अनपढ हुन्छन्, दुख गरेर कमाएको पनि फुर्मास गरेर उँडाइदिन्छन् भन्ने प्राय जनमानसमा छाप छ । पढ्न नपाउने, सानैमा बिबाह बन्धनमा बाँधिने, सानै उमेरमा धेरै सन्तानका आमा, बा बन्ने बिडम्बना प्राय चेपाङ समुदायमा छ ।
दशकौंदेखि जनमानसमा परेको यो छाप मेटाउन पाङखोलाका सोमबहादुर चेपाङले जोडबल गरिरहेका छन् ।
चेपाङ पनि व्यवसाय गर्छन, चेपाङले पनि मनग्य आर्थिक लाभ लिन्छन्, चेपाङ समुदाय पनि एकदिन सम्पन्न बन्नेछन् भनेर चिनाउन उनले धेरै पसिना काढेका छन् ।
केहीबर्षदेखि तरकारी खेती गरेर उनी अहिले लखपति भएका छन् । उनको कामको कदर गर्दै राष्ट्रपतिको हातबाट जनसेवा पदक पाएका छन् भन्ने पत्याउन पनि उत्तिकै मुस्किल होला, तर यो तथ्य र सत्यताको खोजी गर्न गोरखाको पाङ्खोला पुग्नुपर्छ ।
गण्डकी गाउँपालिका १ पाङ्खोलाको तिरमा बाह्रै महिना तरकारी खेती गरेर उनी बर्षमा कम्तिमा पाँच लाख आम्दानी गर्छन् ।
‘काँक्रो बेचेर यो दुई हप्तामै ७० हजार त कमाइसकेको छु’, उनी भन्छन्, ‘अहिले काँक्रो र करेला बेच्छु । गोलभेँडा, चिचिण्डा, घिरौंला, बोडी, भिण्डी पनि बेच्छु ।’ पाङखोला तिरमा १५ रोपनी जग्गामा खेती गर्ने उनले बताए ।
तरकारी बेच्न उनी पृथ्वी राजमार्गको फिस्लिङ बजार पुग्छन् ।
उनले तरकारी खेती गर्न थालेको १० बर्ष भइसकेको छ । यो अवधिमा उनले राष्ट्रपति जनसेवा पदकसमेत हात पार्न सफल भएका छन् । ‘२०७४ सालको जेठ १५ गते राष्ट्रपतिको हातबाट जनसेवा पदक पाएको थिएँ’, उनी भन्छन्, ‘२०७१ सालमा क्षेत्रीय पुरस्कार पनि पाएको छु ।’
उनको प्रगति देखेपछि आसपासका अरु चेपाङले पनि तरकारी खेती सिकेका छन् । तर धेरै व्यवसायिक हुन भने नसकेका उनी बताउँछन् ।
गोरखाको घ्याल्चोक, धादिङको चरौंदीतिर जाँदा आउँदा तरकारी खेती फस्टाएको देखेपछि आफूले पनि देखासिकी गरेको सोमबहादुर बताउँछन् । ‘चरौंदी, धवादीघाटतिर जाँदा बेस्सरी तरकारी खेती गरेको देखेँ । त्यसपछि मिहिनेत गरेपछि हुँदो रहेछ भन्ने लाग्यो’, उनले भने, ‘त्यसपछि मैले पनि जग्गा भाडामा लिएर खेती गर्न सुरु गरेँ ।’
तरकारी खेती गरेर उनले चारजना छोरालाई पढाएका छन् । ‘एउटा छोरा १२ कक्षा पढ्छ, दुईजना आठ कक्षा पढ्छन् । एउटा नेपाल आर्मीमा भर्ती भयो’, उनले भने ।




