
लोपोन्मुख बराम भाषाको दोस्रो चरणको कक्षा सुरु
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ डाँडागाउँमा लोपोन्मुख बराम भाषाको दोस्रो चरणको कक्षा संचालन हुने भएको छ ।
यसअघि गत वर्ष ९० घण्टाको कक्षामा बाराम भाषाको शब्दका बारेमा स्थानीय २० जना लाई पढाइएको थियो । अहिले वाक्य लेख्न, बोल्न सिकाउने गरी दोस्रो चरणको कक्षा संचालनको तयारी भएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।
दोस्रो चरणको कक्षा सञ्चालन हुनुअघि बुधवार सहभागीलाई अभिमुखीकरण कार्यक्रममा सहभागी गराइएको थियो । भाषा आयोगले लोपउन्मुख भाषामध्ये बराम भाषा पनि एक रहेकाले यसको संरक्षणका लागि बराम समुदायका बाहुल्यता रहेको बारपाक सुलिकोट ६ डाँडागाउँमा उक्त कार्यक्रम संचालन गरेको हो ।
भाषा आयोगकै सहयोगमा गाउँपालिकाले बाल कक्षा देखि तीन कक्षा सम्म उक्त भाषामा पाठ्यक्रम तयार गरेको प्रशासकीय अधिकृत भण्डारीले बताए ।
बुधवार भएको उद्घाटन कार्यक्रममा भाषा आयोगका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।




