
लाप्राकका प्रधानाध्यापकद्वारा विद्यार्थीलाई बार्षिक रु ३० हजार बराबरको सहयोग घोषणा
धार्चे ४ लाप्राकस्थित मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङले आफ्नो विद्यालयका विद्यार्थीलाई बार्षिक ३० हजार रुपैयाँ बराबरको सहयोगी सामग्री प्रदान गर्ने घोषणा गरेका छन् ।
सोमबार विद्यालयमा आयोजित अभिभावक भेलामा प्रअ गुरुङले आफ्नो विद्यालयमा कक्षा १ देखि पाँच कक्षासम्म अध्ययनरत विद्यार्थीलाई हरेक बर्ष ३० हजार रुपैयाँ बराबरको स्टेशनरी लगायतका सहयोगी सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् ।
‘किताब, कापी, कलम, झोला लगायतका सामग्री किन्न नसकेर बिचैमा पढाइ छोड्नु पर्ने अबस्थाका अतिगरीब, दलित, असहाय, अनाथ बालबालिकालाई मेरो व्यक्तिगत रकम प्रत्येक बर्ष ३० हजार रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छु’, उनले भने, ‘आशा छ, किताब, कापी, कलम लगायत स्टेशनरी सामान किन्ने पैसा नभएर पढाइ छोड्नुपर्ने अबस्था आउनेछैन ।’
यस्ता सहयोग अरु विद्यालयहरुमा, अरुहरुले पनि गरेमा दुर्गम गाउँमा गरिबीका कारण पढाइ छाड्ने अबस्थाको अन्त्य हुने उनले विश्वास ब्यक्त गरेका छन् ।




