| सोमवार, कार्तिक २३, २०८३

नेकपा प्रबक्ता श्रेष्ठद्वारा अन्नपुर्ण माविको नयाँ भवन उद्घाटन

पालुङटार नगरपालिकाको खोप्लाङमा भूकम्पले भत्किएको अन्नपुर्ण माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जापनिज सहयोग नियोग (जाइका) को ऋण सहयोगमा सात करोड ६२ लाख रुपैयाँको लागतमा भवन पुनर्निमार्ण भएको हो । नवनिर्मित भवनको सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोभन गर्दै नेता श्रेष्ठले पैसा कमाउने उदेश्यले खुलेका निजी शिक्षण संस्थालाई नियमन गर्ने बताएका छन् । पालुङटार नगरपालिका खोप्लाङको अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रका शिक्षण संस्थालाई निश्चित मापदण्डभित्र राख्ने बताए ।
‘सरकारले निजी शिक्षण संस्था बन्द गर्ने वा शिक्षाको जिम्मेवारी नदिने भनेको होइन’, उनले भने, ‘शिक्षामा निजी क्षेत्रले सेवाको तीब्र भाव ल्याउनुपर्छ, पैसा कमाउने उदेश्य होइन । ब्यबसाय गर्ने भए अन्य किसिमका ठेक्कापट्टा, ब्यापार ब्यबसाय गर्नुहोस ।’ सरकारको ध्यान सार्वजनिक शिक्षण संस्थामार्फत सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्नेमा केन्द्रित रहेको उनको भनाई छ । जिविकोपार्जन र जिवन सिकाउने शिक्षा अहिलेको आबश्यकता रहेको ठहर गर्दै उनले प्राविधिक शिक्षामा जोड दिए । विद्यालयमा कार्यालय कक्ष निर्माण, पुस्तकालयका लागि पुस्तक र प्राविधिक शिक्षा सञ्चालनका लागि विभिन्न संघसंस्थासँग समन्वय गरेर सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
विद्यालय पुनर्निर्माणका क्रममा २० कक्षाकोठा र छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय बनाईएको छ । २० कोठामध्ये चार वटा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्ष र इसिडी कक्षाका रुपमा प्रयोग हुनेछन् ।
कार्यक्रमका बक्ताहरुले भवनको सदुपयोग गर्न आग्रह गरेका छन् । सुविधासम्पन्न भवनको रक्षा गरी प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्षको उचित सदुपयोग गर्न उनिहरुको आग्रह छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ग्यामलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिव प्रेम गुरुङ, पालुङटार नगरपालिका वडा नं २ का अध्यक्ष लोकनाथ वाग्ले, नेपाली कांगे्रसका कृष्ण पोख्रेल, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेल, राष्टिूय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख विष्णु प्रसाद मिश्र, इन्जिनियर बाबुराम देवकोटा, प्रधानाध्यापक दिपक सापकोटा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्